पाकिस्तानद्वारा भारतसँगका द्विपक्षीय सम्झौता, हवाई क्षेत्र तथा व्यापार स्थगनको घोषणा

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

Photo : PakPMO

भारतले सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले प्रतिवाद गर्दै विभिन्न प्रबन्धको घोषणा गरेको छ।पाकिस्तानले बिहीबार भारतसँगको द्विपक्षीय सम्झौता, हवाई क्षेत्र र सीमाना बन्द तथा व्यापार निलम्बनको घोषणा गरिएको हो।

भारतको कदमपछि प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाएका थिए। बैठकमा सेनाप्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।

“पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ,” बैठकपछि जारी वक्तव्यमा भनिएको छ।

भारतले जम्मू–कश्मीरको पहलगाम आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकको भिसा खारेज गर्ने निर्णय लिएको थियो।

जवाफमा पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। भारतीय नागरिकको भिसा पनि रद्द गरिएको छ। यद्यपि सिख तीर्थयात्रीलाई भने छुट दिइएको छ।

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

पाकिस्तानले भारतीय विमान कम्पनीका लागि आफ्ना हवाई क्षेत्र स्थगत गर्नुका साथै तथा पन्जाबस्थित वाघा नाका बन्द गरेको छ। वक्तव्यमा भनिएको छ, “यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ।”

पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ।