सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।

काठमाडौँ– नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ। मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो। इन्फ्लुएन्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएन्जा र स्ट्रेपटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो। यी खोपले सिकलसेल एनिमिया र थालसेमिया संक्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसंख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ। विशेषगरी थारू समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उनले बताए। “हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ। भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ। हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन्,” मन्त्री पौडेलले भने।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताए। उनले भने, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ। मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ। यी औषधि र खोपले थारू समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ। केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ। क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ।”