भारत–पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन राष्ट्रसंघको आग्रह

कश्मीरमा भएको गोलीकाण्डलाई लिए एक–अर्काप्रति आक्रामक प्रतिक्रिया दिन थालेपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।

कश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक प्रतिबन्ध घोषणा गर्न थालेपछि संयुक्त राष्ट्रसंघले आणविक–शक्तिसम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।

मुस्लिम–बहुल काश्मीरमा भएको गोलीकाण्डपछि भारतले पाकिस्तानलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशको सम्बन्ध नाजुक तहमा पुगेको छ।

“हामी दुवै सरकारलाई... अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपिल गर्दछौँ”, संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारसँग भने, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ।”

भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीयस्थलमा २६ नागरिकको हत्यामा संलग्न बन्दुकधारीलाई पक्रने प्रतिज्ञा गरेका छन्।

“म सारा विश्वलाई भन्छु, भारतले हरेक आतंकवादी र तिनका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ। हामी तिनीलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उनले भने।

इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने भारतीय प्रयासलाई ‘तुच्छ’ भन्दै कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ। पाकिस्तानले पनि कुनै भारतीय कारबाहीको जवाफ दिने बताएको छ।

“पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायद्वारा सामना गरिनेछ,” पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखसँगको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ। दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दाबी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन्।

विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारतनियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन्।

विवादबीच भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन्। भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लस्कर–ए–तैयबा समूहका सदस्य हुन्। लस्कर–ए–तैयबा संयुक्त राष्ट्रसंघद्वारा घोषित आतंकवादी संगठन हो।

उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्न सूचना दिनेलाई २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन्।

आक्रमणको एक दिनपछि नयाँ दिल्लीले जलसन्धि निलम्बन, पाकिस्तानसँगको मुख्य स्थल मार्ग बन्द, कूटनीतिक सम्बन्ध कम गर्दै पाकिस्तानीका लागि भिसामा समेत रोक लगाएको छ।

जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारलाई निष्कासन गर्न, सिख तीर्थयात्रीबाहेक भारतीय नागरिकका लागि भिसा रद्द र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ।

सिन्धु नदीबाट पानी आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ।