वार्तामा आउन आन्दोलनरत शिक्षक महासंघलाई शिक्षामन्त्रीको आग्रह

चैत २० गतेदेखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन्।

काठमाडौँ– शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका छन्।

उनले सरकारका तर्फबाट शुक्रबार पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासंघ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका हुन्।

मन्त्री पन्तले शिक्षकसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेका छन्।

उनले शिक्षक प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै भएको उल्लेख गरेका छन्।

विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानूनी बन्दोबस्त रहेका छन् भन्दै शिक्षामन्त्री पन्तले वार्ताको माध्यमबाट समाधान खोज्न हार्दिक अपिल गरेका छन्।

गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन्।

“विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकामा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ”, मन्त्री पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनले उल्लेख गरेका छन्।