‘जीवन यो रहेसम्म’ लिएर आए कलेजो सर्जन भण्डारी

गीतमा शब्द, संगीत र स्वर उनको आफ्नै रहेको छ। म्युजिक भिडिओमा समेत आफैले अभिनय गरेका छन्।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेश सिंह भण्डारी व्यस्त चिकित्सा जीवनबाट फुर्सद निकालेर केही न केही सिर्जनशील काम गरिरहन्छन्। सांगीतिक र खेलकुद गतिविधिमा उनको संलग्नता त्यसको उदाहरण हो।

शुक्रबार मात्र उनले ‘जीवन यो रहेसम्म’ गीत सार्वजनिक गरेका छन्। गीतमा शब्द, संगीत र स्वर उनको आफ्नै रहेको छ। म्युजिक भिडिओमा समेत आफैले अभिनय गरेका छन्। भिडिओको निर्देशन भने अनिल के मानन्धरले गरेका हुन्।

यसअघि पनि छिटपुट गीत गाउँदै आएका उनले ‘तिमी नै’, ‘एउटा जीवन’, ‘मायालु भाका’, ‘कसरी बस्नु’, ‘किन होला’लगायत गीत बजारमा ल्याएका थिए।

प्राडा भण्डारीकै पहल र नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरू भएको थियो।