शिक्षक चढेको रात्रिबस झापामा दुर्घटना, १६ जना घाइते

बस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधेखण्डमा दुर्घटना भएको हो।

झापा– काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुवाहक रात्रिबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधेखण्डमा दुर्घटना भएको हो। घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र बीएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलनकुमार केसीले जानकारी दिए। 

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको भण्डारीको भनाइ छ।

“म ड्राइभरदेखि पछाडीको सिटमा थिएँ,” शिक्षक भण्डारीले भने, “गाडी अस्वाभाविक रूपमा हल्लियो र सडकमा पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै अरू घाइतेलाई उद्धार गरेर बाहिर निकालेँ।” 

बस अनियन्त्रित भई दुर्घटना भएको र चालक महेन्द्र कन्दङ्वालाई नियन्त्रणमा लिइएको एसपी केसीले बताए।