गोरखा भूकम्पको केन्द्र बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो राखिएका छन्।
गोरखा– फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्ताबेजीकरण गरिएको फोटो प्रदर्शनी गरेका छन्। बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो प्रदर्शनमा राखिएका छन्।
प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त गोरखाका भौतिक संरचनाको बाँकी पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको उनले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भूकम्पपछिको पुनर्निर्माण सन्तोषजनक नभएको स्वीकार गरे। उनले भने, “भूकम्प अघि जस्तो बारपाक थियो त्यस्तो बनाउन हामीले सकेनौँ। पर्यटक आकर्षण गर्ने हिसाबले भौतिक संरचना बनाउन सकिएन। हेर्दा राम्रो त देखिएको छ तर बारपाकको मौलिकता हराएको छ,” उनले भने। भूकम्पबाट पाठ सिकेर आगामी दिनमा त्यस्तो दिन नआओस् भनेर पूर्वतयारी गर्नुपर्ने उनले बताए।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पुनर्निर्माणपछि स्थानीयको आयआर्जन बढाउन र पर्यटक बढाउन गाउँपालिकाले प्रयास गरिरहेको बताए। बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ। प्रदर्शनीमा राखिएका तस्वीर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने फोटो पत्रकार तिमिल्सेनाले बताएका छन्। ती तस्वीर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ।
प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।
२०७२ सालको भूकम्पपछि बारपाक पुगेर त्यहाँको विनाश क्यामेरामा कैद गरेका उनी हरेक वर्षजस्तो त्यहाँ पुगेका थिए। त्यही क्रममा विगत १० वर्षमा त्यहाँ देखिएको परिवर्तनलाई फोटो प्रदर्शनीमार्फत स्थानीय र सरोकारवालालाई देखाउने प्रयास गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
