अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध शुरू भएको छ।

अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको चीनले शनिबार जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिंटनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरामा सत्यता नरहेको जनाएको हो।

चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, “चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, सम्झौताको त कुरै छाडौँ।” 

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरेका थिए। अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको बताएका थिए। 

विज्ञप्तिमा व्यापार युद्ध अमेरिकी पक्षले उल्लेख छ। “यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ,” चीनले भनेको छ। 

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध शुरू भएको छ। अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ। चीनले पनि अमेरिकाविरुद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ।