कारागारभित्रै सीप सिकेर आयआर्जन गर्दै कैदी–बन्दी

भीमफेदी कारागारभित्र कोही कैदी–बन्दी गलैँचा बनाउन, कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त देखिन्छन्। कैदी–बन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन्।

बागमती– मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदी–बन्दी कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन्।

कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई समाजमा पुनर्स्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन्।

कारागारभित्र कैदी–बन्दी कोही गलैँचा बनाउन व्यस्त छन्। कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेको दृश्य कारागारभित्र देख्न सकिन्छ। कैदी–बन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन्।

कतिपय कैदी–बन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन। कैदी बन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन्। विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउँदा समाजमा पुनर्स्थापित हुनसमेत सहज हुने कैदी जयराम रुम्बाले बताए।

“अदालतबाट जेल सजाय पाएपछि जीवन नै सकियो भनेजस्तो लागेको थियो,” मकवानपुरका रुम्बाले भने, “तर जेलमा आएर गलैँचा बनाउने सीप सिकेपछि फेरि समाजमा इमानदारीपूर्वक काम गरेर जीवन बिताउन सकिन्छ भन्ने आशा जागेको छ।” उनले गलैँचा बनाएर महिनाको १६ हजारसम्म कमाइरहेका छन्। यो  कमाइले उनलाई पकेट खर्च चलाउन समस्या छैन।

रुम्बासँगै कारागारको १ नम्बर ब्लकमा रहेका भक्तबहादुर गुरुङले पनि विगत चार वर्षदेखि कारागारभित्रै गलैँचा बनाएर आम्दानी गर्दै आएका छन्। “कम्पनीले कारागार व्यवस्थापनमार्फत गलैँचा बनाउन माग पठाउँछ, त्यसपछि हामी तयार पारेर कम्पनीलाई दिन्छौँ”, गुरुङले भने, “हामी २०/२५ जना गलैँचा बनाउन सिकेका छौँ, हामीले बनाएको गलैँचा स्तरीय भएकाले बढी माग आउने गर्छ।”

दुई हजार कैदी–बन्दी राख्ने क्षमता रहेको भीमफेदी कारागारमा अहिले एक हजार २४ कैदी–बन्दी छन्। सो कारागारमा लागुऔषध, जबरजस्ती करणी, ज्यानलगायत मुद्दाका बढी कैदी–बन्दी छन्। यीमध्ये धेरैले बाँसको मुढा र मैनबत्ती बनाउँदै आएका छन्।

“विभिन्न मुद्दामा परेर जेल आउने र जाँदा सीप सिकेर फर्किने गरेका छन्”, कारागारभित्र बाँसको मुढा बनाउन व्यस्त सीताराम महतोले भने, “जेल सुध्रिने ठाउँ मात्र होइन, गर्नेहरूका लागि सीप सिकेर आयआर्जन गर्ने ठाउँका रूपमा विकास भइरहेको छ ।” कैदी–बन्दीलाई कारागारभित्र सुधार्नका साथै सीपमूलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको कारागारका कैदी जलबहादुर गुरुङको कथन छ।

“कारागारमा रहेका अधिकांश कैदी–बन्दी कुनै न कुनै सीपमूलक कार्य गरेर आयआर्जन गरिरहेका छन्,” गुरुङले भने, “यहाँ रोजगार गरेर कमाउँछु भन्दा कमाउन सक्ने ठाउँ पनि हो।” कैदी–बन्दीको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुढा र मैनबत्ती बनाउनु दैनिकीजस्तै भइरहेको कैदी–बन्दीको भनाइ छ। भीमफेदी कारागारका प्रमुख जेलर सुवास पौडेलका अनुसार कारागारमा रहेका कैदी–बन्दीमध्ये २५० जना गलैँचा, १५० जना मुढा बनाउने र ५० जना मैनबत्ती बनाउन र पाँच जना पोते बनाएर कारागारभित्रै आयआर्जन गर्दै आएका छन्।

कैदी–बन्दीलाई सीप विकास गर्नसके राज्यको आर्थिक भारमा समेतमा सहुलियत हुने प्रमुख जेलर पौडेलले बताए। “सरकारले पनि जेल सजाय भोगिरहेका कैदी–बन्दीलाई समाजमा पुनर्स्थापित गराउनुपर्छ भन्ने मान्यता राखेको छ”, प्रमुख जेलर पौडेलले भने, “सरकारको त्यही मान्यताअनुरूप कारागारभित्रै कैदी–बन्दीलाई सीपमूलक काम सिकाएर आम्दानीको स्रोत पहिल्याई दिएका हौँ।”

यसबाट कैदी–बन्दीलाई कारागारमा रहँदा समय बिताउन समस्या पनि नहुने र आयआर्जन समेत गर्न सकिने र पछि फर्किएर समाजमा पनि सहजरूपमै जीवनयापन गर्न सकिने प्रमुख जेलर पौडेलको भनाइ छ। कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कैदी–बन्दीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने देखिन्छ।