इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा ५०० जनाभन्दा बढी घाइते

इरानको बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा ५०० जनाभन्दा बढी घाइते भएका छन्।

इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्त्वपूर्ण बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको संख्या ५१६ पुगेको छ।

सरकारी टेलिभिजनले आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार ‘५१६ जना घाइते भएका छन् र सयौँलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ।’

यसअघि इरानको सरकारी समाचार संस्था आईआरएनएले देशको आपत्कालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो। प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको छ।

विस्फोट ग्यास ट्यांकीमा भएको बताइएको छ। विस्फोटपछि आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। 

सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। उद्धार तथा राहत टोली घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन्। सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधि हालका लागि स्थगित गरिएको छ। अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन। घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।