हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
कर्णाली– हिमाली जिल्लामा पनि औलो रोगको संक्रमण देखिन थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको संक्रमण देखिएको हो।
कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार हुम्लाको अदानचुली र ताजाकोट गाउँपालिकामा दुई जनामा औलो संक्रमण देखिएको हो।
विगतमा तराई तथा भित्री मधेशमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन्। हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए।
“निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन्। हुम्लामा संक्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि संक्रमण भेटिएको छ। यसले सबैलाई झस्काएको छ,” उनले भने।
आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका–४ र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन्।
यस्तै, प्रदेशमा २९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिममा रहेका छन्। हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो संक्रमण सुर्खेतमा देखा परेको छ। सुर्खेतका ६ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट संक्रमण देखा परेको छ। जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई/दुई र लेकबेँसी नगरपालिकामा एक जनामा आयातित औलो रोग सङ्क्रमण देखा परेको जनाइएको छ।
यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक/एक गरी चार जना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए। उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरू हुन्। कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए।
“स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ। प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ,” आचार्यले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
