वैज्ञानिकले पत्ता लगाए अहिलेसम्मकै तीतो वस्तु

‘अमरपोस्टिया स्टिपाटिका’ नामक यो च्याउको गुणबारे हालै अनुसन्धान गरिएको हो। यसलाई काठेढुसी पनि भनिन्छ। रोचक कुरा त के भने यति तीतो भएर पनि यो च्याउ विषाक्त भने छैन।

काठमाडौँ– अधिकांश मानिसलाई सबैभन्दा मन नपर्ने स्वाद भनेको तीतो नै हो। यस सम्बन्धमा वैज्ञानिकहरूले थोरै कुरा पत्ता लगाएका छन्।

तर पछिल्लो समय पत्ता लागेको नयाँ तथ्यले भने खोजकर्ताहरू नै अचम्मित भएका छन्। उनीहरूले विश्वकै सबैभन्दा तीतो च्याउ पत्ता लगाएका हुन्। जसको तीतोपन यति धेरै छ कि, जिब्रोमा राख्दा ‘मरिन्छ झैं अनुभूति’ हुन्छ। डेलीमेलका अनुसार जर्मनीको म्युनिख टेक्निकल युनिभर्सिटीको ‘लाइबनिज इन्स्टिच्युट फर फुड सिस्टम्स बायोलोजी’का अनुसन्धानकर्ताहरूले यसलाई पत्ता लगाएका हुन्। ‘अमरपोस्टिया स्टिपाटिका’ नामक यो च्याउका गुणहरूको बारेमा हालै अनुसन्धान गरिएको हो। यसलाई काठे ढुसी पनि भनिन्छ। रोचक कुरा त के भने यति तीतो भएर पनि यो च्याउ विषाक्त भने छैन।

अमरपोस्टिया स्टिपाटिका ढुसी सुकेका रूखका हाँगाहरूमा उम्रन्छ। वैज्ञानिकहरूका अनुसार यो मोम जस्तै चिल्लो र छुन खोज्दा टाँसिने खाले हुन्छ। यस प्रकारको च्याउ युरोपसहित यशियाली भूभागमा पनि पाइन्छ।

अहिलेसम्म वैज्ञानिकहरूले दुई हजार ५०० वटा यस्ता चीजहरू पत्ता लगाइएका छन् जुन अत्यन्तै तीतो छन्। तर तीमध्ये मानव जिब्रोले केवल ८०० चीजहरूको स्वाद चिन्न सक्छ। यसैबीच, उक्त डाटाबेसमा जनावर, ढुसी र ब्याक्टेरियाबाट प्राप्त तीतो रसायनहरू भने दुर्लभ छन्।

कुनै वस्तुको स्वाद कति तीतो छ भनेर जान्न जिब्रोले चाखेर सम्भव नहुने भएकाले वैज्ञानिकहरूले प्रयोगशालामा उब्जाइएको कोष मोडेलहरू प्रयोग गरेर तीतोपनको मात्रा पत्ता लगाउने गर्छन्। यस्तो खोजको लागि सामान्यतया तीतोपन सिर्जना गर्न जिम्मेवार अणुहरूको खोजी गरिन्छ। यद्यपि, वैज्ञानिकहरूले अझै पनि ठ्याक्कै बुझेका छैनन् कि किन केही चीजहरू तीतो हुन्छन् र किन तिनीहरू हामीलाई यति नराम्रो स्वाद दिन्छन्।

हाम्रो शरीरमा तीतो स्वाद चिन्नको लागि एक विशेष रिसेप्टर हुन्छ। तर अनौठो कुरा त के भने वैज्ञानिकले ती रिसेप्टरहरू हाम्रो मुखमा मात्रै नभई मानव पेटमा, आन्द्राभित्र र छालामा पनि फेला पारेका छन्। यी अंगहरूले स्वाद लिन मद्दत नगर्ने भए पनि त्यहाँ सेन्सर वा रिसेप्टरहरू किन राखिएका छन् भन्ने कुरा रहस्य नै रहेको छ।

फूल फुल्ने बिरुवाहरू लगभग २० करोड वर्षपहिले मात्र देखा परेका थिए तर तीतो स्वाद रिसेप्टरहरू लगभग ५० करोड वर्षपहिले विकसित भएको मानिन्छ। यस तथ्यले तीतो वस्तुमा पर्यावरणीय परिवर्तनलाई झेल्न सक्ने क्षमता बढी रहेको देखाउँछ।