सांसद राईमाथि ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ– स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

स्वर्णलक्ष्मी सहकारी अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी मुद्दामा सांसद राईलाई अनुसन्धानका लागि प्रहरीले शनिबार राति काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

राईलाई म्याद थपका लागि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार राईमाथि अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

साथै सांसद राई पक्राउबारे सदनलाई समेत जानकारी गराइएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुख इन्दिरा रानाले सांसद राईलाई पक्राउ गरिएकोसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौँको पत्र वाचन गरेर सुनाएकी थिइन्।

स्वर्णलक्ष्मीका पाँच हजार ६६९ बचतकर्ताको दुई अर्ब ६५ करोडभन्दा बढी रुपैयाँ ठगी भएको निष्कर्षसहित गोर्खा मिडियाका अध्यक्षसमेत रहेका जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। मुद्दा दायर गर्दा राईलाई छुट दिएको भन्दै आलोचना भएपछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो।