नेपालमा पनि उदाउन सक्छ दक्षिणपन्थी ‘ट्रम्पवाद’

ट्रम्पको यो उभार आधुनिक साम्राज्यवादी पुँजीवादतिरको छलाङ हो, जहाँ सबै कुरा एक व्यक्तिको हातमा हुन्छ, कानूनलाई आफ्नो सुविधाअनुसार तोड्न सम्भव छ र जनता केवल तमासे बनेर हेर्न विवश हुँदै छन्।

दक्षिणपन्थको वर्तमान विश्वगुरु ट्रम्प र ‘अमेरिकी फस्ट अगेन’को पेरीफेरीमा विकसित भइरहेको ट्रम्पवादको शल्यक्रिया आवश्यक छ।

कुनै पनि समाज बिनाकारण अवसान हुँदैन तर विनाशकको प्रतीक्षामा बसिरहेको हुन्छ। कुनै मूर्ख व्यक्ति वा त्यस्तो समाज जसले आफ्ना पुराना गल्ती बिर्सन्छ, त्यसबाटै समाज विनाशतर्फ धकेलिन्छ। प्लेटोले आफ्नो प्रसिद्ध कृति ‘रिपब्लिक’मा ‘लोकतन्त्र अन्ततः आफै अन्त्यतिर अघि बढ्छ, जब मानिसहरू स्वतन्त्रतालाई उच्छृंखलता ठान्न थाल्छन् र एक सर्वशक्तिशाली नेता खोज्न थाल्छन्’ भनी चेतावनी दिएका थिए।

ट्रम्पको पुनरागमन त्यही चेतावनीको जीवित प्रमाण हो, ट्रम्पको उदयपश्चात् अमेरिकी समाज लोकतन्त्रको आवरणमा अधिनायकवादतर्फ अगाडि बढ्दै छ, जसले गर्दा अमेरिकी समाज गम्भीर संकटतिर उन्मुख हुँदै गएको छ।

जर्मन दार्शनिक हेगेलले भनेका थिए, ‘इतिहास आफै दोहोरिन्छ: पहिलोचोटि त्रासदीको रूपमा, दोस्रोचोटि प्रहसनको रूपमा।’ ट्रम्पको पहिलो कार्यकाल एउटा गम्भीर त्रासदी थियो, जसले अमेरिकी लोकतन्त्रको जग हल्लायो। तर उनको दोस्रो आगमन एक प्रहसनजस्तै लाग्छ– एउटा कठोर विडम्बना, जहाँ लोकतन्त्रले आफ्नै अस्तित्वमाथि प्रहार गरिरहेको छ र जनता त्यसलाई समर्थन गर्दै ताली बजाइरहेका छन्।

केवल अमेरिका मात्र होइन, नेपाललगायत अन्य देशका लागि पनि एक गम्भीर सन्देश हो, जहाँ लोकतन्त्रको नाममा अराजकता, ध्रुवीकरण र अतिवादलाई प्रश्रय दिइँदै छ।

अघिल्लो निर्वाचनमा पराजित ट्रम्प पुनः अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित भए। उनको नेतृत्वले पछिल्लो समय गरेका निर्णयले २१औँ शताब्दीमा १९औँ शताब्दीको प्रतिच्छाया देखिन थालेको छ। १९औँ शताब्दीको समय श्रमिकलाई मेसिनझैँ शोषण गरिन्थ्यो र सत्ता केवल धनाढ्यको हातमा सीमित रहन्थ्यो। ट्रम्प अहिले त्यही पुरानो, विभेदकारी र अत्याचारपूर्ण अमेरिकी समाजको पुनरुत्थान गरिरहेका छन्, जहाँ गरिब जनतालाई ‘अमेरिका फर्स्ट’का नारा देखाएर ढाँटिन्छ, तर वास्तविक लाभ ठूला कम्पनी र धनीवर्गको पोल्टामा पुग्छ।

वर्तमान अमेरिका ट्रम्पको एक निरङ्कुश  ‘औद्योगिक राजतन्त्र’मा परिणत भइसकेको छ, जहाँ न्यायपालिकादेखि सञ्चारमाध्यमसम्म सबै राज्यका अंग तानासाहको सनकमा निर्भर भएका छन्। इतिहासका अनुभवले के सिकाउँछ भने जब कुनै राष्ट्र वा समाज आफ्नै विचारबाट भाग्न थाल्छ, त्यो आत्म-विनाशतर्फ उन्मुख हुन्छ।

१९औँ शताब्दीमा अमेरिकाले क्रान्तिको नाममा क्रूरता र लोकतन्त्रको नाममा दमनलाई जन्म दिएको थियो। अहिले ट्रम्प फेरि त्यही बाटोमा फर्केर अमेरिकालाई 'नयाँ साम्राज्यवादी नरक'तर्फ धकेलिरहेका छन्।

ट्रम्पको दिमागमा कुनै नयाँ विचार छैन, केवल पुरानो संसारका खिया लागेका तस्वीर घुमिरहेका छन्। १९औँ शताब्दीमा  अमेरिका आफूलाई जबरजस्ती विश्वभर फैलाउन खोजिरहेको थियो। पुँजीवादको आफ्नो नांगो नंग्राले संसार निचोर्दै थियो। औद्योगिक क्रान्तिको नाममा मानवश्रमलाई मेसिनमुनि कुल्चिएर शोषण गरिरहेको थियो। विलियम म्याकिन्ली, ट्यारिफ, विशाल रेलमार्ग, व्यापारी पुँजीवाद र 'म्यानिफेस्ट डेस्टिनी' भन्ने घमन्ड हाबी थियो। ट्रम्प अहिले तिनै समयका नायकको जयजयकार गरिरहेका छन्।

ट्रम्पले १९औँ शताब्दीका नायकको जयजयकार गर्नु फगत एक संयोग मात्र होइन, एउटा गहिरो विचारधारा हो, जसको माध्यमबाट उनी अमेरिकालाई फेरि त्यही लोभ, शोषण र अमानवीय शक्ति-सञ्चयतर्फ फर्काउन चाहन्छन्। इतिहासको सामान्य चेत भएकाहरूले राम्ररी बुझेका छन् कि त्यो युगमा युरोपबाट आएका गोराले अमेरिकी आदिवासीको भूमि हडपे, श्रमिकको रगत चुसे, र पुँजीका देवताको पूजा गर्दै मानवजीवनलाई बलि चढाए। ट्रम्प आज पनि त्यही नालीबाट नयाँ शक्ति निकाल्ने प्रयास गर्दैछन्, कुनै नौटंकी झाँक्रीले पुरानो नलीहाड बजाएर ‘वायु’ जगाउन खोजेझैँ।

नेपालमा पनि अहिले व्यवस्थाविरोधी आवरणमा कुनै ट्रम्पवाद उदाउँदै छ। उनीहरू पञ्चायती विकासको आवरणमा जनतालाई अन्धकारतर्फ धकेल्न खोजिरहेका छन्। उनीहरूको चर्को राष्ट्रवादको नाराले जनताका वास्तविक मुद्दालाई नालीमा फ्याँकिदिएको छ। जसरी ट्रम्पले अमेरिकालाई १९औँ शताब्दीमा फर्काउने सपना देखिरहेका छन्, त्यसैगरी नेपालमा पनि एक वर्ग देशलाई 'प्राचीन गौरव'तर्फ फर्काउने कुरा गरिरहेका छन्, जबकि त्यस प्राचीन अँधेरी नगरमा जनता केवल राजाको रैतीका रूपमा हुन्थे, सत्ता राजाकै केही आसेपासेका हातमा हुन्थ्यो। यो त्यस्तो व्यवस्था थियो, जहाँ कानूनको अर्थ केवल राजाको इच्छा हुन्थ्यो।

सम्भवतः शासनको त्यस्तै अभ्यास देखेर र भोगेर आएका हिजोका रैती आज शासनसत्तामा पुगेका कारण होला, उनीहरू पनि जनतासँग जबाफदेही देखिएका छैनन्। उनीहरू पनि बेलाबेला प्राचीनतामा गौरव गरिरहेका देखिन्छन्।

उता, ट्रम्प गरिबलाई अमेरिका फर्स्टको सपना देखाइरहेका छन् र अर्बपतिको गोजी भरिरहेका छन्। १९औँ शताब्दीमा अमेरिकाले आफ्नो नागरिकलाई व्यापारिक पशुका रूपमा हेर्थ्यो। हेनरी स्टील कमेजरले लेखेका थिए, ‘जसले धन बढाए पनि त्यो राम्रो हो। त्यसैले सट्टाबाजी, विज्ञापन, जंगलको कटाई र प्राकृतिक स्रोतको शोषण सबै स्वीकार्य थियो।’ सिद्धान्तहीन ट्रम्पले आजको अमेरिकालाई सञ्चालन गर्न चाहेको मार्गदर्शक सिद्धान्त पनि यही हो! ट्रम्पको यो नयाँ राष्ट्रवाद गरिब, वञ्चित र श्रमजीवीका लागि होइन, नयाँ धनपतिका लागि हो, जसले सत्ताका गठजोडमा अरू सबैलाई किनारा लगाउन चाहन्छन्। सरकारी नीति पुँजीपतिको इशारामा बनाइन्छन् र जनतालाई सपना बेच्दै जनतालाई नै लुटिन्छ।

विश्वको अर्थकेन्द्र बनेको अमेरिका १९०० को दशकसम्म यस्तो थिएन। अमेरिकी स्वतन्त्रपश्चात् १८२५ देखि १९०१ सम्म अमेरिकामा २० राष्ट्रपति आए र गए, तर जनताको विश्वास हरेक पटक टुट्दै गयो। सरकार बने र भत्किए। जनताको जीवनमा खास प्रगति भएन, किनभने प्राय: ती सबैले निःशुल्क बजार र कमजोर सरकारको खेलमा आफ्नो स्वार्थ मात्र पूरा गरे। अन्ततः, २०औँ शताब्दीमा अमेरिकाले मजबुत केन्द्रीकृत सरकार बनाउनुपर्‍यो, जसले समाजमा धनी र गरिबबीच केही हदसम्म सन्तुलन कायम गरोस्।

'ट्रम्पवाद'ले यी सबै कुराको विपक्षमा वकालत गर्छ। ट्रम्पवादले सरकार शक्तिको खेलको कठपुतली मात्र बनेकाले अब राष्ट्रपति नै 'राजा' हुने र सबै कुरा त्यही राष्ट्रपतिको मुट्ठीमा होस् भन्ने चाहन्छ। आजको अमेरिका पहिले नै असमानता, बेरोजगारी र पुँजीवादको अनियन्त्रित गति र प्रविधिको अधिनायकत्वसँग जुधिरहेको छ, ट्रम्पले यसमा थप 'आगो लगाउने' योजना बनाइरहेका छन्।

पछिल्लो समय नेपालमा पनि त्यस्तै अभ्यास चलिरहेको छ। ट्रम्पले 'मेक अमेरिका ग्रेट अगेन'को नारा दिई जनतालाई १९औँ शताब्दीको लुट र लालचतिर लागिरहेका छन्, नेपालमा पनि पुरानो सत्ताका मालिक 'पृथ्वीपथ' र पञ्चायतमा बनेका केही सीमित संरचनाको विकासको आडमा सामन्ती व्यवस्थातर्फ धकेल्न खोजिरहेका छन्।

ट्रम्पवादी अमेरिकामा जनता सम्भ्रान्त व्यक्तिको फन्दामा पुगिसकेका छन्। त्यहाँका धनाढ्य जनतालाई अहिले गगनचुम्बी टावरबाट तल हेर्दै संस्कृति र नैतिकताको पाठ पढाउँछन्। प्रतिउत्तरमा त्यहाँका जनतासँग 'अमेरिका फस्ट अगेन' बाहेक केही छैन।

ट्रम्प सत्तामा आउनु केवल १९औँ शताब्दीको पुनरावृत्ति मात्र होइन, त्योभन्दा विकराल स्थिति हो। किनभने यस पटक उनीसँग रेलमार्ग वा कुनै भौतिक विकासका योजना मात्र छैनन्, आर्टिफिसियल इन्टेलिजेन्स, ठूलो स्तरमा सरकारी तथ्यांक आफ्नै मातहत छ, जसले सम्पूर्ण अमेरिकन प्रणालीलाई ध्वस्त पार्ने सामर्थ्य राख्छ।

ट्रम्पको यो उभार आधुनिक साम्राज्यवादी पुँजीवादतिरको छलाङ हो, जहाँ सबै कुरा एक व्यक्तिको हातमा हुन्छ, कानूनलाई आफ्नो सुविधाअनुसार तोड्न सम्भव छ र जनता केवल तमासे बनेर हेर्न विवश हुँदै छन्।

नेपालमा पनि पछिल्लो समय त्यस्तै खतरा देखिन्छ। लोकतान्त्रिक भनिएका दलमा दलाल पुँजीवाद हाबी छ। राज्यका तमाम निकाय दलीय कब्जामा छन्। मौका ढुकेर बसेको पुरानो सामन्ती शक्ति आफूलाई योग्य भन्दै भ्रमको आवरणमा टाउको उठाउन प्रयत्नरत छ। जनतामा आलोचनात्मक चेत: शून्यप्रायः देखिँदै छ। 

त्यसो हुँदा आउँदो विनाशबाट बच्न जनता स्वयंले समयमै आफ्ना आँखा खोल्नु आवश्यक देखिन्छ। जुनसुकै स्वरूपमा आउने ट्रम्पवादलाई रोक्नु अबको आवश्यकता हो। कागजमा सीमित लोकतन्त्र र वास्तविक शक्ति केही गिनेचुनेको धनपतिको हातमा भएपछि लोकतन्त्र यस्तै ट्रम्पजस्ता सन्काहाको हातमा पर्छ। ट्रम्पजस्तो व्यक्तिले लोकतन्त्रलाई सुधार गर्ने नभई विध्वंसको नेतृत्व गर्छन्।

आफूलाई लोकतान्त्रिक वा गणतन्त्रवादी भन्नेहरूले जनतालाई लोकतन्त्रको अनुभूति नगराए नेपालको नियति पनि ट्रम्पवाद नै हो, जसलाई पृथ्वीपथ, पुरानो स्वर्णयुग, महेन्द्रपथ भनेर नाम दिए पनि आखिर त्यो एक नश्लीय, धार्मिक र उग्रराष्ट्रवादी नाली हुनेछ। त्यस्तो नालीबाट देशलाई बचाउन कमसेकम युवा पिँढीमा इतिहासको अध्ययन र विश्लेषण क्षमता आवश्यक छ।