सरकारी वकिल कार्यालयबाट हतकडीसहित आरोपी फरार

म्याद थप्न सरकारी वकिल कार्यालय पुर्‍याएका बेला मानव बेचबिखनको आरोपमा पक्राउ एक महिला फरार भएकी छन्।

प्रतीकात्मक तस्वीर

सुदूरपश्चिम– मानव बेचबिखनको आरोपमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आइतबार हतकडीसहित फरार भएकी छन्।

मानव बेचबिखन मुद्दामा पुनः म्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आइतबार धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन्।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याएको बेला शाही फरार भएकी बताए।

उनलाई आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि वैशाख ४ गते प्रहरीले पक्राउ गरेको थियो।