युक्रेन युद्धमा रुसको पक्षमा लड्न सेना पठाएको उत्तर कोरियाको पुष्टि

उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको कुरालाई पहिलो पटक स्वीकारेको हो।

काठमाडाैँ– उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको पुष्टि गरेको छ। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)को एक रिपोर्टमा यो जानकारी दिइएको छ।

समाचार एजेन्सीको रिपोर्टअनुसार उत्तर कोरियाली सेनाले नेता किम जोङ उनको आदेशमा कुर्स्क सीमा क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्न आफ्ना सैनिकहरूले रूसी सेनालाई मद्दत गरेको दाबी गरेको छ। दक्षिण कोरिया र पश्चिमा देशका गुप्तचर निकायहरूले लामो समयदेखि उत्तर कोरियाले गत वर्ष कुर्स्कमा हजारौं सेना पठाएको दाबी गर्दै आएका छन्।

फेब्रुअरीमा दक्षिण कोरियाको गुप्तचर निकायले उत्तर कोरियाले रुसलाई सहयोग गर्न आफ्नो थप सेना पठाउने योजनामा ​​विचार गरिरहेको दाबी गरेको थियो। यद्यपि, उत्तर कोरियाली सेनाहरूले मोर्चामा ठूलो क्षति बेहोरे। जनवरीमा आएको एक रिपोर्टले ३०० उत्तर कोरियाली सैनिकहरू मारिएको र दुई हजार ७०० घाइते भएको दाबी गरिएको थियो। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली युद्धमा मारिएका वा घाइते भएका सैनिकहरूको संख्या चार हजार हुन सक्ने दाबी गरेका थिए। यद्यपि, अमेरिकाले यो संख्या एक हजार २०० वा सोभन्दा कम हुन सक्ने अनुमान गरेको थियो।

केसीएनएले सेना तैनाथ गर्ने निर्णय उत्तर कोरिया र रुसबीचको पारस्परिक रक्षा सन्धिअनुसार गरिएको जनाएको छ। हालै, रूसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको बहादुरीको पनि प्रशंसा गरेका थिए।

भ्यालेरी गेरासिमोभले रुसले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको दाबी पनि गरे, जुन दाबी युक्रेनले अस्वीकार गरेको छ।