चट्याङ लागेर १७ भैँसी मरे

संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्। वर्षासँगै परेको चट्याङ लागेर कालोपातलमा चराउन जंगल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ।