क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकलको ओहोरदोहोरले जोखिममा सुस्ता झोलुंगे पुल

क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुंगे पुल जोखिममा रहेको छ।

झोलुंगे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहोरदोहोर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।

“क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ,” उनले भने। सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उनको भनाइ छ। 

झोलुंगे पुलबाट नारायणी नदी र त्यस वरपरको मनोरम दृश्य हेर्न उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका छन्। पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा समेत सुस्ताको झोलुंगे पुल परेको छ।

पर्यटकका लागि भन्दा पनि सुस्तावासीलाई सहजता प्रदान गर्न पुल निर्माण गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए। गाउँपालिकाले पुलको हेरचाहका लागि नगरप्रहरी परिचालन गरेको उनले बताए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाले पुल सञ्चालन तथा रेखदेख गर्न गत वर्ष ठेक्का आह्वान गरे पनि अघि बढ्न सकेन।

“१५ महिनाका लागि ९ लाख रुपैयाँमा ठेक्का आह्वान गरेका थियौँ। कोहीको पनि निवेदन नपरेपछि पुनः आह्वानको तयारी गरिरहेका छौँ”, उनले भने। 

२३ करोडको लागतमा नारायणी नदीमाथि पुल निर्माण गरिएको हो। उक्त पुलको लम्बाइ एक हजार ५७१ मिटर र चौडाइ एक मिटर ६० सेन्टिमिटर रहेको छ।