दोहोरो अंकले घट्यो नेप्से परिसूचक, करिब ९ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।

काठमाठौँ– शेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्सेका अनुसार सोमबार परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

विभिन्न ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि आइतबार १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

सोमबार वित्त समूह १.४० र व्यापार समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.६५, विकास बैंक, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.७५, लगानी २.१४, जीवन बीमा ०.१३, उत्पादन तथा प्रशोधन ०.५४, लघुवित्त ०.७६, म्युचुअल, निर्जीवन बीमा ०.०२ र अन्य समूहको उपसूचक ०.२१ प्रतिशतले घटेको छ।

सोमबार नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। शप्तकोशी डेभेलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ८.४५ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको ७० करोड ९४ लाख ७१ हजार २३७ रुपैयाँ बराबरको १९ लाख ६८ हजार १३९ कित्ता शेयर किनबेच भएको छ।