इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। 

इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ।

अधिकारीले आगलागीमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्। हसनजादेहले अधिकांश घाइते उपचारपछि फर्किइएको तथा १३८ जना घाइते अझै अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन्।

इरानको सरकारी टेलिभिजनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ। आगो निभाउनका लागि दमकल तथा हेलिकप्टर परिचालन गरिरहेको टेलिभिजन फुटेजकमा देखाइएको छ।

बन्दरगाहस्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण यकिन नभए तापनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागीबाट भएको हुन सक्ने जनाएको छ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। सामाजिक सञ्जाल तथा सीसीटिभीमा देखाइएको भिडियोमा सानो आगोको ज्वाला, धुवाँको साथ घटना बिस्तारै शुरू भएको देखाइएको छ। गोदामको छेउमा केही कन्टेनर बीचबाट शुरू भएको आगोले केही समयपछि भीषण रूप लिएको देखिन्छ।

राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ। अधिकारीहरूले यस क्षेत्रका सबै विद्यालय तथा कार्यालय बन्द गर्न आदेश दिएका छन्। बासिन्दालाई ‘अर्को सूचना जारी नभएसम्म’ सुरक्षित रहन आग्रह गरिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई–निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात/निर्यात नगरिएको बताएका छन्।

रुसले आगो नियन्त्रणका लागि सहयोग गर्न विशेषज्ञ पठाएको छ। अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबारदेखि नै तीन दिनको शोक शुरू भएको छ।

तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधि भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो।