१७ अर्ब ८६ करोडको अवैध कारोबार, ११ जिल्लाका २१ जना पक्राउ

सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। सीआईबीले सिजलो पे र पेवेल नेपाल प्रालिमार्फत करिब १८ अर्ब रुपैयाँ अवैध कारोबार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

सीआईबीले पक्राउ गरेकाहरूमा ११ जिल्लाका मनी ट्रान्सफरका सञ्चालक लगायतका व्यक्ति छन्। सीआईबीले जारी गरेको विवरणअनुसार पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दीपेन्द्रप्रसाद साह छन्।

त्यस्तै, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, रामविलास साह तेली, ममता कुमारी, सुशीलाकुमारी साहु र शम्भु मेहता रहेका छन्। त्यसैगरी, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह र सञ्जिवकुमार महतो छन्।

यसैगरी पक्राउ पर्नेमा पर्साका प्रदीपकुमार साह, विकर्णजंग राणा, सलमा खातुन, नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, गणपति पाण्डे र चितवनका गोविन्दप्रसाद आचार्य छन्।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी अनुसार उनीहरू १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ। उनीहरूले भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतमा संलग्न रहेका व्यक्ति तथा समूहलाई नगदै रकम खातामा प्लेसमेन्ट गरी रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने रकम हिसाब मिलान गरेको पाइएको सीआईबीले जनाएको छ। उनीहरूमाथि नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीत कार्य गरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरउपर अनुसन्धान थालिएको प्रवक्ता शाहीले जानकारी दिए।