स्पेन र पोर्चुगलका धेरैजसो क्षेत्रमा विद्युत् अवरुद्ध, हवाई तथा रेल सेवा प्रभावित

विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।

स्पेन र पोर्चुगलमा सोमबार विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल फोन तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको अधिकारीहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा पुगेर समस्याबारे जानकारी लिएकी छन्। स्पेन सरकारले व्यापक रूपमा भएको विद्युत् कटौतीको कारण पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।

स्पेनी विद्युत् सेवा प्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत् सुचारु गर्न ६ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत् कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा मेट्रो स्टेसनमा अन्धकार छाएको, रेल रोकिएका र कार्यालय र हलमा रहेका मानिसहरूले आफ्नो फोनको बत्ती प्रयोग गरेर हिँडिरहेको देखिन्छ।

राष्ट्रिय सडक प्राधिकरण डीजीटीले मोटर चालकलाई ड्राइभिङ रोक्न भनेको छ भने प्रहरीले चौराहामा ट्राफिक निर्देशन जारी गर्न बाध्य भएको छ।

म्याड्रिड र बार्सिलोनामा एएफपीका पत्रकारले मानिसहरू सडकमा निस्केको र आफ्नो स्मार्टफोन समातेर नेटवर्क कनेक्सन प्रयास गरिरहेको बताएका छन्।

मानिसहरू लिफ्टमा पनि फसेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्।

इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत् अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधार सेवा प्रभावित बन्न पुगेको छ। यसले वेब कनेक्सन सामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ।

पोर्चुगलको विद्युत् प्रदायक संस्था आरईएनले एएफपीलाई दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत् अवरुद्धका कारण प्रभावित भएका छन्।

दक्षिण पश्चिम फ्रान्समा पनि केही समय विद्युत् सेवा प्रभावित भए पनि अहिले सेवा पुनः सञ्चालनमा आएको छ।

फ्रान्सको हाई भोल्टेज ग्रिड अपरेटर आरटीईले भनेको छ, “विद्युतीय घटनाले स्पेन र पोर्चुगललाई प्रभावित गरिरहेको छ, जसको कारण पत्ता लाग्न बाँकी छ।”

स्पेन र पोर्चुगलसँग सम्पर्कमा रहेको र यसको ‘अन्तर्निहित कारण बुझ्न’ युरोपियन आयोगले आग्रह गरेको एक प्रवक्ताले बताएका छन्।

स्पेनको रेलवे अपरेटर एडीफले बिजुली कटौतीपछि देशभरिका सम्पूर्ण रेल रोकेको छ।

विमानस्थल सञ्चालक आइनाका अनुसार उडानमा ढिलाइ भए पनि आकस्मिक विद्युत् प्रणालीका कारण देशका विमानस्थल अझै सञ्चालनमा छन्।

स्पेनको रेड इलेक्ट्रिकाले देशको उत्तर र दक्षिणमा विद्युत् आपूर्ति सुचारु गर्न सफल भएको तर समस्या समाधान नभएको बताएको छ।

“हामी सेवा पुनः सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ।

स्पेनको एल पाइस पत्रिकाले आफ्नो वेबसाइटमा म्याड्रिडमा मेट्रो रेल रोकेको, ट्राफिकलाई निर्देशन दिइरहेको प्रहरी र टर्च लाइटको छेउमा अँध्यारो कार्यालयमा काम गरिरहेका आफ्नै पत्रकारको तस्वीर पोस्ट गरेको छ।

पत्रिकाले अस्पतालका प्रमुख विभाग ब्याक–अप जेनेरेटरको कारण काम गर्न सकेको भए पनि अन्य एकाइ बिजुलीविहीन अवस्थाका कारण प्रभावित रहेको जनाएको छ। हालैका वर्षहरूमा विश्वका अन्य देशहरूमा पनि विद्युत् अवरोध हुने समस्या देखा परेका छन्।