कुटानी–पिसानी मिलबाट जीविकोपार्जन गर्दै चित्रबहादुर

सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने गरेका छन्। नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ।

कञ्चनपुर– बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्। मिलबाट उनले मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। 

सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाबाट २० लाख रुपैयाँ ऋण लिएर मिल सञ्चालन गरेका हुन्। मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी चामल निकाल्ने उपकरण राखेका छन्। 

“सहकारीबाट लिएको ऋणमध्ये १८ लाख आम्दानीको रकमले तिरिसकेँ। बाँकी पनि दुई तीन महिनामा चुक्ता गर्ने योजना छ,” उनले भने। 

व्यवसाय गर्ने पैसा नहुँदा विगतमा खेतबारीमा दिन बिताउने गरेको उल्लेख गर्दै चौधरीले खेतबारीबाट उत्पादन हुने अन्नले खान मात्रै पुग्ने, खर्चका लागि अभाव हुने गरेको बताए। सहकारीमा आबद्ध भएर ऋण लिएर मिल सञ्चालन गरेपछि पैसाको अभाव नभएको उनको भनाइ छ।

“महिनामा १ लाख ५० हजार जति आम्दानी हुन्छ,” उनी भन्छन्, “मिलमा काम गर्ने कामदारको ज्याला, उपकरण मर्मत, विद्युत्को महसुल खर्च कटौती गरी ७० हजार रुपैयाँ जति बचत हुने गरेको छ।” बचत भएको रकम सहकारीमा जम्मा गर्दै आएका छन्। 

मिलबाट आम्दानी भएको रकमले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोराले धनगढीमा उच्च शिक्षा अध्ययन गराइरहेका छन्। सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने गरेका छन्। दैनिक भारतीयको चार क्विन्टलजतिको गल्ला कुटानी–पिसानीको काम हुने गरेको चौधरीले बताए। 

नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ। नजिक अरू कुटानी–पिसानीका मिल नहुँदा ग्राहकको घुइँचो लाग्ने गरेको उनको भनाइ छ। “तोरीको तेल पेल्न, कुटानी–पिसानी गर्ने भारतीय अधिक आउने गरेका छन्,” चौधरीले भने, “भारतीय क्षेत्रमा रहेका मिलले लिने रकमभन्दा यहाँ सस्तो हुँदा उहाँहरू यता आउनुहुन्छ।” 

गहुँ पिसानी गरेको प्रतिकिलो डेढ रुपैयाँ, मकैको अढाई रुपैयाँ र तोरीको तेल निकालेको सात रुपैयाँ लिने गरेका छन्। धान कुटानी गरेपछि आउने ब्रान र तोरीको तेल पेलेर निस्कने पिना(खली) बेचेर अतिरिक्त आम्दानी हुने गरेको छ। 

आम्दानी भएको रकम बचतमार्फत बजार क्षेत्रमा जग्गा खरिद गरी पक्की घर निर्माण गर्ने योजना छ। ग्राहकलाई चाहहिएको बेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनी बताउँछन्।