प्रकाशमानमार्फत प्रचण्डलाई देउवाको सन्देश- दुई वर्ष प्रधानमन्त्री दाबी नगरिदिनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलो दुई वर्ष आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरेका छन्। 

कांग्रेस नेता प्रकाशमान सिंहलाई प्रचण्ड निवास खुमलटार पठाई देउवाले यस्तो सन्देश पठाएका हुन्। 

प्रधानमन्त्री देउवाले नयाँ सरकारको नेतृत्व २ वर्षका लागि आफूलाई छाडिदिन आग्रहसहित सन्देश पठाएको सिंहलाई उद्धृत गर्दै स्रोतले जनाएको छ। 

सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बस्दैछ। 

यसअघि गठबन्धनका नेताहरूबीच यसै विषयमा बिहीबार पनि छलफल भएको थियो।