सरकार र शिक्षक महासंघबीच सहमति हुन सकेन, बुधबार पुनः वार्ता

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ।

काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच मंगलबार राति भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन।

वार्ता सकारात्मक भए पनि सहमतिको खाका बन्न नसकेको र बुधबार दिउँसो दुई बजे बस्नेगरी टुंगिएको शिक्षक महासंघका उपमहासचिव मदनराज जोशीले जानकारी दिए। 

उनका अनुसार मन्त्रीस्तरीय र मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्नुपर्ने मागबारे छलफल भएको थियो। त्यसमा केही विमति आएपछि निष्कर्षमा पुग्न नसकेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको आन्दोलन सम्भव भएसम्म छिटो टुंगो लगाउन लागिएको उनले मंगलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिए। 

शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीच वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए। साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली सहभागी थिए। 

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित भएको छ।