यूएई र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडाैँ– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङ नीलकण्ठ नगरपालिका-६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौँ महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका छन्।

पक्राउ परेकामध्ये उमेशले यूएई पठाइदिन्छु भन्दै चार जनाबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै एक जनाबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका-६ बाट सोमबार र सुजनलाई काठमाडौँ महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।