नेपालमा मात्रै नभई संसारभर नै धेरैजसो श्रमिक र किसान ऐतिहासिक रूपमा उत्पीडित देश, क्षेत्र र समुदायबाट आउँछन्, जसरी अमेरिकामा जमाइकाबाट ‘बफलो सोल्जर’ (भैँसी गोठाला)हरू आए।
आम रूपमा श्रमलाई प्राय: तीन क्षेत्रमा वर्गीकरण गर्न सकिन्छ: क. शारीरिक श्रम, ख. बौद्धिक/प्राज्ञिक श्रम र, ग. शारीरिकसँगै बौद्धिक श्रम। गम्भीर अध्ययन अनुसन्धान, चिकित्सा र खोजलाई तेस्रो कोटीमा राख्न सकिन्छ।
श्रमपूर्ण काममा निर्माण, कृषि, खानी, ढुवानी, सरसफाइ आदि पर्छन्। बजारबाट घरसम्म चामल र तरकारी आउनकै लागि पनि ती सामग्री उचाल्ने, बोक्ने र ढुवानी गर्ने मजदुर आवश्यक हुन्छन्। चामल फलाउने, बोक्ने, कुट्ने, झार्ने, फेरि त्यसलाई मिलमा लगेर चामल बनाउने, धोक्रामा हाल्ने किसान र मजदुरहरू नै हुन्छन्। दाल- भात-तरकारी पकाउन आवश्यक पर्ने ग्यास सिलिन्डर कुनै मजदुरले नै तपाईंको घर-कोठा-डेरासम्म ल्याइदिन्छन्। तपाईं शहरमा हुनुहुन्छ भने एकाबिहानै सफाइ मजदुरले बढारेका सफा रोडमा तपाईं हिँडिरहनु भएको हुनसक्छ।
घरको बिजुली र पाइप-धारा मर्मत गर्नेहरू पनि मजदुर नै हुन्। यी काममा सिप पनि चाहिन्छ, तर पाखुरा र शरीरको बल बढी आवश्यक पर्छ। बाँच्नका लागि अत्यावश्यक प्राथमिक क्षेत्र हुन् यी। आफ्नै जीवनमा हामी कति धेरै शारीरिक श्रम गरिरहेका हुन्छौँ। लुगा धुने, भाँडा माझ्ने, बढार्ने र सरसफाइ गर्ने काम। बजारबाट तरकारी र अन्य सामान बोकेर ल्याउने।
बसेर मात्रै गर्नेमा बौद्धिक वा प्राज्ञिक कामहरू पर्छन्: शिक्षण, लेखन, प्रशासनिक काम र प्रोग्रामिङ आदि। यस्ता काममा शारीरिक श्रम न्यून हुन्छ, तर बौद्धिक प्रयास ज्यादा आवश्यक पर्छ। शिक्षण, लेखन, इन्जिनियरिङ, प्रबन्धनजस्ता पेसालाई 'ह्वाइट-कोलार' (मैलो नलाग्ने पेसा) पनि भनिन्छ। हाम्रो समाजमा यस खालको श्रमको राम्रै सम्मान छ। कर्मचारी र प्रशासन पनि यसै क्षेत्रमा पर्ने भएकाले यिनले आफ्नो मान मर्यादा र हाइरार्कीका लागि भाष्य निर्माणमा आफैँ पनि काम गरेका छन्। शिक्षकहरू आफ्नो मर्यादामा चुक नहोस् भनेर कलिला विद्यार्थीहरूलाई सानैदेखि प्रशिक्षित गराउँछन्।
श्रमसँगै बुद्धि खियाउने काम हो अनुसन्धान, चिकित्सा र खोजलगायत क्षेत्र। डाक्टर, इन्जिनियर आदिलाई यो श्रेणीमा राख्न सकिन्छ। चिकित्सकलाई हाम्रो समाजमा पर्याप्त श्रद्धा छ। डाक्टर (सामान्यता आधुनिक चिकित्सामा स्नातक) लाई कुनै पनि नेपालीले बिरलै 'साप्' नजोडी बोलाउँदैन। गाउँघरमा अहेब (असिस्टेन्ट हेल्थ वर्कर) ले पनि डाक्टरको सम्बोधन पाउँछन्। (यद्यपि, चिकित्सा पर्याप्त पेसामा महिलाहरूको आगमनसँगै त्यहाँ लैंगिक विभेद देखिन्छ। सेवा लिन जानेहरूले विशेषज्ञ महिला डाक्टरलाई समेत 'नर्स'का रूपमा बुझ्छन्। पुरुष डाक्टर र महिला डाक्टरमा विभेद देखिन्छ। तर आम रूपमा चिकित्सा पेसा आफैँमा जीवनदायी पेसा भएकाले सेवा लिनेहरूले यस क्षेत्रमा कार्यरत श्रमिकहरूको राम्रै खातिरदारी गरेको देखिन्छ। विश्वविद्यालय पढेर आउने इन्जिनियरहरूको सम्मानमा पनि समाज चुकेझैँ लाग्दैन।
वृहत् श्रम र श्रमिकको परिभाषामा माथिका सबैलाई राख्न सकिन्छ। यी सबैले कुनै न कुनै रूपमा आफ्नो शारीरिक बल, बौद्धिक परिश्रम, सिप र अक्कललले हामी हाम्रो परिवार, समाज र राष्ट्रलाई अघि बढाउन भूमिका खेलिरहेका छन्। हाम्रो हातमुख जोर्ने, जीवन सहज बनाउने, शिक्षा र स्वास्थ्यलाई राम्रो बनाउने काम गरिरहेका छन्। ज्यालादारी कामदार, किसान, कर्मचारी, शिक्षक, नर्स, डाक्टर, सुरक्षाकर्मी, ड्राइभर, रिक्सा चालक, ठेलागाडा चालक, घरेलु कामदार, मेसिन अपरेटर, सफाइकर्मी सबै नै श्रमिकहरू हुन्। ती सबैले हाम्रो जीवन संचालनमा योगदान गरिरहेका छन्, तर पनि शारीरिक श्रम गर्ने किसान-मजदुरहरूचाहिँ अपमानित छन्।
बुझिल्याउँदा, बौद्धिक प्रयत्न गर्नेहरूसँगै कठिन शारीरिक श्रम गर्नेहरूको पसिनाले आजको भौतिक विकास चरम चुलीमा पुगेको हो। रकेट, हवाईजहाज, मोबाइल, वा चिप्स बनाउन आवश्यक एलुमिनियम, स्टिल, सिलिकन, टाइटेनियम, प्लास्टिक र अन्य कच्चा पदार्थहरू खानी, कारखाना, वा प्रशोधन केन्द्रबाट तिनै श्रमिकहरूले खोतल्नुपर्छ। उत्खननदेखि ढुवानी र प्रारम्भिक प्रशोधनमा तिनै मजदुरले योगदान गर्छन्। सिलिकन चिप्सका लागि बालुवा खानीबाट सिलिका निकाल्ने, त्यसलाई शुद्ध पार्ने र ढुवानी गर्ने काम शारीरिक श्रममा पर्छ। हवाईजहाज र रकेटका लागि आइरन, स्टिल, प्लास्टिक र ब्याट्रीलगायत अनेकन् आधारभूत सामग्री चाहिन्छन्। तिनको उत्पादन र निर्माणमा पनि मजदुर नै चाहिन्छन्।
आधुनिक उपकरणहरूको निर्माण प्राय: एसेम्बली लाइनमा हुन्छ, जहाँ शारीरिक श्रमिकहरूले मेसिन र उपकरणहरूको सहयोगमा विभिन्न पार्ट/कम्पोनेन्टहरू जोड्ने, जाँच्ने र प्याकेजिङ गर्ने गर्छन्। यसमा त शुद्ध शारीरिक मात्रै नभई बौद्धिक श्रम पनि आवश्यक पर्छ। प्राविधिक समझ र शारीरिक कौशल दुवै चाहिन्छ। मोबाइल फोनको सर्किट बोर्डमा साना चिप्स टाँस्ने काममा मेसिनले सहयोग गर्छ, तर मानव श्रमिकले त्यसको गुणस्तर नियन्त्रण गर्छन्। मेसिन उपकरणहरू प्राय: श्रमिकले नै चलाउँछन्। हवाईजहाजको इन्जिन जाँच्ने काम पनि श्रमिकहरूबाटै हुन्छ। ठुला उपकरणहरूको निर्माणमा बौद्धिक श्रम गर्ने समूह सानो हुन्छ, तर त्यसको संचालनमा ठूलो शंख्यामा शारीरिक श्रमिक आवश्यक पर्छ। एप्पलको आइफोन बनाउनका लागि चीनका कारखानाहरूमा लाखौँ श्रमिकहरूले एसेम्ब्ली, प्याकेजिङ र ढुवानीमा काम गर्छन्। तिनको कर्मकै कारण 'सुकिलामुकिला'हरूले यो महँगो फोन प्रयोग गर्न पाउँछन्।
त्यसो हुँदा, आजको आरामदायी जीवन निर्माणमा संसारका करोडौँ श्रमिकहरूको योगदान छ। हवाईजहाज, कम्प्युटर, मोबाइल, अत्याधुनिक चुलो, वासिङ मेसिन, भ्याकुम क्लिनर, ओभन, इन्जिनयुक्त सवारी, उपचारमा प्रयोग हुने उपकरणलगायत हजारौँ उपकरण निर्माणमा अगणित मजदुरहरू थिए र छन्। तिनकै पसिनामा ठूलाठूला उत्सव र मेगा खेलकुद इभेन्ट सफलतापूर्वक सम्पन्न हुन्छन्। तिनकै सेवा सत्कारमा विशाल विशाल धार्मिक पर्वहरू जम्छन्। तिनकै सक्रियताका कारण सडकमा मोटर, तारमा बिजुली, धारामा पानी र नालीमा 'त्याज्य' बग्छ।
तर एकाबिहानैदेखि बेलुकासम्म र कतिपय अवस्थामा मध्यरातमा समेत खटिएर संसारलाई चलायमान बनाउने सहयोगी-मजदुरहरूप्रति हाम्रो समाजमा सम्मान एकदमै कम छ। पहिलेभन्दा अहिले 'ओठे सम्बोधन'मा समाज केही सुध्रिएको देखिए पनि व्यवहारमा मजदुरहरूलाई यथोचित सम्मान अझै छैन। भारी बोक्ने, ठेला ठेल्ने, सफा गर्ने कर्मीहरूप्रति त अझै कम छ, जबकि यस्तै कामका लागि हाम्रा आफन्तहरू अहिले पनि विश्वका अनेकन् ठुला शहरमा पुगेका छन्, पुग्दै छन्। ती देशमा पुगेर अधिकांश हाम्रा आफन्तले कृषि, निर्माण, ढुवानी, र कारखानामा काम गर्छन्।
तर त्यस्तै काम गर्न हाम्रा घर र दोबाटामा आएकालाई ढुक्कले 'तिमी' भन्छौँ। पसिनाले भिजेको तिनको लुगा, समयमै धुन नपाएका तिनको लुगा देख्दा नाक खुम्च्याउँछौ। आफ्नो जीवन सहज र समृद्ध बनाउन कति परदेखि श्रमका लागि हाम्रै घरसम्म आएका श्रमजीवीहरूप्रति हामी दिलैदेखि सम्मान देखाउन सक्दैनौँ। कुन अभ्यास र संस्कृतिले हो कुन्नि, हाम्रो विवेकमा मेहनती मान्छेहरूलाई रोक्ने तघारो निर्माण गरिदिएको छ।
सामन्ती आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थाले काम गर्ने र पसिना चुहाउनेहरूप्रति गरेको अपमानको अभ्यास हाम्रो समाजमा अझै जारी छ। पुराना राजा, मुखिया, सरदारहरूले आफ्ना नाममा अनेकौँ विशेषणका लाइन र 'श्री'का चाङ थप्दै गर्दा यता मजदुरहरूले भने 'तँ' र 'ओए'को सम्बोधन पाए। सिमानामा ज्यान थापेर मर्ने सैनिकहरू भाडाका सिपाही (ज्यालादारी श्रमिक) थिए। तिनकै कारण जोगिएको भौगोलिक सीमाभित्र बसेर शासनमा तर मार्न पाउनेहरूले भुलेर पनि श्रम र श्रमिकको सम्मान गरिएको भेटिएन।
अर्को कुरा, नेपालमा मात्रै नभई संसारभर नै धेरैजसो श्रमिक र किसान ऐतिहासिक रूपमा उत्पीडित देश, क्षेत्र र समुदायबाट आउँछन्, जसरी अमेरिकामा जमाइकाबाट 'बफलो सोल्जर' (भैंसी गोठाला)हरू आए। हाम्रो समाजमा त अझ जातीय दलन अझै तीव्र छ, यस्तो ठाउँमा शारीरिक र र कठिन श्रम गर्नेहरूप्रति चेतन वा अचेतन रूपमै घृणा वा उपेक्षाको अभ्यास छँदैछ। ऐतिहासिक रूपमा उत्पीडनमा परेका श्रमिकमध्ये महिला सबैभन्दा अगाडि आउँछन्। अहिले पनि समान काममा महिलालाई विश्वभर नै ज्याला कम छ। हाम्रोमा पनि खेतबारीकै काममा समेत अझै त्यस्तो छ।
यद्यपि, जर्मनी, जापान वा केही नर्डिक मुलुकमा श्रमिकहरूप्रति विभेद अत्यन्त कम छ। सम्भवतः तिनै कारणको थप योगदानले, ती मुलुकमा मानव गरिमा ज्यादा छ र देश पनि समृद्ध छन्। जबकि, दक्षिण एसिया, मध्यपूर्व र अमेरिका महादेशका कतिपय देशमा शारीरिक काम गर्ने र आप्रवासी श्रमिकहरू ज्यादा विभेदमा पर्छन्। यी देशमा मानव मूल्य र गरीमा कम देखिन्छ। सम्भवतः श्रमिकहरूले ज्यानै जोखिममा राखेर काम गर्दा पनि त्यसअनुसारको ज्याला र सम्मान नपाएको देखेर खुसीराम पाख्रिनले यो गीत लेखेर/गाएर आक्रोश पोख्नुभएको हुनुपर्छ:
गैँती–बेल्चा उचालेर,
पहरालाई छिचोलेर
डाँडाकाँडा बाटो बनायो
के पायो नि कुल्ली दाइले
के खायो नि कुल्ली भाइले
अर्कैले मोटर गुडायो…
श्रमिकको अपमान श्रमको अपमान हो। सामाजिक, भौतिक र आर्थिक विकासमा हामी पछि पर्नुमा श्रम र श्रमिकको अपमान, तर कामचोर र गफाडीहरूलाई माला लगाएर आसनमा बसाउने सामन्ती सोच र अभ्यास कारण हुनसक्छ।
संसारभरका ठुला संरचना, हवाईजहाज, रकेट, सबै खालका यन्त्र, सडक संरचना निर्माणको पिँधमा रहेर उल्लेख्य योगदान गर्ने श्रमिकहरूलाई डाक्टर, इन्जिनियर वा कुनै राज्यको ठूलो पदधारी राष्ट्रपतिलाई झैं सम्मान गर्दा के बिग्रन्छ? धुलो र पसिनाले भिजेका श्रमिकहरूलाई मन, वचन र कर्मले सम्मान गर्ने प्रण अन्तर्राष्ट्रिय श्रमिक दिवसजस्तो महान् पर्वबाटै गर्ने कि?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
