अमेरिकी अर्थतन्त्रमा संकुचन

सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।

काठमाडाैँ– सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा संकुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ। सन् २०२४ को अन्तिम तीन महिना (अक्टोबर-डिसेम्बर)मा २.४ प्रतिशतले वृद्धि भएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ। 

यो आँकडा बजारको ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा कम हो।

वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको छ।”

ट्रम्प सत्तामा फर्केको जनवरी २० देखि १०१  दिनका अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको हो।

यो समयमा उनले अमेरिकी व्यापार सम्बन्धलाई पुनर्स्थापित गर्न अप्रिलको शुरूदेखि शीर्ष व्यापारिक साझेदारहरूलाई व्यापक कर लगाउने योजनाहरू प्रस्तुत गर्दै मार्चमा धेरै चरणहरूमा कर वृद्धिको घोषणा गरेका थिए। 

ती शुल्कहरूको शुरूआतले वित्तीय बजारमा शेयर बिक्रीलाई बढावा दियो, जसले अस्थिरतालाई कोभिड–१९ महामारीपछिको न्यूनस्तरमा पुर्‍यायो र लगानीकर्ताहरूलाई तर्सायो।

जर्ज वासिंटन युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तारा सिन्क्लेयरले एएफपीसँग भने, “विशेषगरी राष्ट्रपति भएको पहिलो १०० दिनमा सामान्यतया सरकारी नीतिमा त्यति धेरै परिवर्तन हुँदैन तर अहिले यो अवस्था फरक छ।” नाटकीय नीतिगत परिवर्तनहरूले अर्थव्यवस्थालाई प्रत्यक्ष रूपमा कमजोर पारिरहेकोमा आफू स्पष्ट रहेको उनले बताए।

अप्रिलमा ट्रम्पको नीतिको आलोचना गर्दै भएको नाटकीय शेयर बजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौं देशहरूलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणा गर्दै अधिकांश देशहरूको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो।

यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरूमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल १४५ प्रतिशत नयाँ व्यापक करहरू घोषणा गरेको छ। त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको थियो।