३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।
काठमाडौँ– सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गरिने चेतावनी दिएपछि नागरिक अधिकारका क्षेत्रमा काम गर्दै आएका ३१ वटा संघ/संस्थाका प्रतिनिधिले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले संयुक्त प्रेस विज्ञप्ति गर्दै पारदर्शी, सहभागीमूलक र अधिकारमैत्री डिजिटल नियमन प्रक्रियाको माग गरेका छन्।
विज्ञप्तिमा हस्ताक्षर गरेकामध्ये अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीका अनुसार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दिएको चेतावनी अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र लोकतान्त्रिक सुशासनका मूल्यविपरीत रहेको सबैको ठहर छ। सामाजिक सञ्जाल नियमनका लागि स्पष्ट कानूनी संरचना आवश्यक भए पनि अहिलेसम्म पारदर्शी प्रक्रिया र उपयुक्त संयन्त्रको अभाव रहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। “प्लेटफर्म बन्द गर्नु संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड विपरीतको स्वेच्छाचारी र असंवैधानिक कदम हुनेछ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।
सामाजिक सञ्जालमार्फत सूचनाको प्रवाहमा रोक लगाउने खालका कदमले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र डिजिटल अधिकारमाथि प्रत्यक्ष असर पुर्याउनुका साथै वैदेशिक लगानी र प्रविधि सेवामा समेत नकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, डिजिटल नियमनसँग सम्बन्धित प्रक्रिया पारदर्शी, सहभागीमूलक र अधिकारमैत्री बनाउन नागरिक समाज, विज्ञ तथा सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्ने सुझाव पनि दिइएको छ।
सामाजिक सञ्जाल प्लेटफर्मको जबाफदेहिता सुनिश्चित गर्नका लागि मानव अधिकारमैत्री कानूनी व्यवस्था आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसले प्रयोगकर्ताका अधिकारलाई सुरक्षित राख्दै कम्पनीलाई पनि जिम्मेवार बनाउने कार्यमा मद्दत पुर्याउने उनीहरूको विश्वास छ। विज्ञप्तिमा प्रतिबन्ध वा रोकजस्ता कठोर कदमलाई अन्तिम विकल्पको रूपमा मात्र लिनुपर्ने र त्यो पनि स्पष्ट कानूनी आधार र नियमन प्रक्रियाको पालना गर्दै गर्नुपर्नेमा जोड दिइएको छ।
नागरिक समाजले नेपाल सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेको छ। सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा जिम्मेवार रूपमा काम गर्न र आवश्यक पारदर्शिता कायम गर्न पनि आग्रह गरिएको छ।
उनीहरूले डिजिटल माध्यममा नागरिकको पहुँच सुनिश्चित गर्नु, सार्वजनिक संवादलाई प्रोत्साहन गर्नु र नागरिक अधिकारको रक्षा गर्नु सरकारको मुख्य दायित्व रहेको स्मरण गराएका छन्। संसद्मा छलफल भइरहेको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पर्याप्त बहस, विशेष राय र सार्वजनिक परामर्श आवश्यक रहेको उनीहरूको धारणा छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
