शुरू भयो मेरो भ्वाइस युनिभर्सको फाइनल राउन्ड

मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाले फाइनल प्रतिस्पर्धा गर्दैछन्। नेपालसमेत विश्वका १३ मुलुकमा अडिसन गरिएको थियो।

काठमाडौँ– विश्वभरका नेपाली प्रतिभा सहभागी भएको गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्ड बिहीबार शुरू भएको छ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाले फाइनल प्रतिस्पर्धा गर्दैछन्। नेपालसमेत विश्वका १३ मुलुकमा अडिसन समापन गरी काठमाडौँको एए स्टुडियोमा फाइनल राउन्डका प्रतिस्पर्धा गराइएको छ।

यसको प्रसारण नेपाल टेलिभिजनबाट शुरू गरिएको छ। फाइनल राउन्डका ३२ एपिसोडमध्ये वैशाख १८ गते साँझ पहिलो एपिसोड प्रसारण गरिएको हो। 

मेरो भ्वाइस युनिभर्सको निर्देशकका विशाल अर्याल र विशाल भण्डारी छन्। निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, लावनी चक्रवर्ती प्रसाईं र कर्मा ग्लाल्जेन छन्।