कालीगण्डकीमा पुल नहुँदा फट्केबाट जोखिमपूर्ण यात्रा

कालीगण्डकीमा पुल नहुँदा थासाङ गाउँपालिका–२ सौरु र सिरकुङ गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरूलाई स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ।

मुस्ताङ– थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदा सोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण दुर्गम भएका छन्। 

४० परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो। कालीगण्डकीमा पुल नहुँदा उनीहरूलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ।

याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन् तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ। बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र  स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हीराचनले बताए। 

संघीय व्यवस्था प्रारम्भ हुनुअघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन। स्थानीयको सहयोगमा बनाइएको पुलको आरसीसी पिल्लर बाढीले पुरेपछि बन्न सकेन। हालसम्म पनि पुल बन्ने लक्षण नदेखिएको उनको गुनासो छ। 

२०७७ ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो। इलाइट रुविना कन्ट्रक्सनसँग ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए।