तामाकोशीको कटानले देवीटार बजार जोखिममा

तामाकोशी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्म कटान गरिरहेको छ।

रामेछाप– तामाकोशी नदीको कटानका कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ। 

नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा कटान गर्दै आएको छ। नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ। 

नदी कटानको कारण खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए। “कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो,” उनले भने। 

२०४५ सालदेखि कटान गर्न लागेको तामाकोशीले यस वर्ष बढी कटान गरेको अर्का स्थानीय बाबुराम पुलामी बताउँछन्। “मिल्तीदेखि देवीटारसम्मको क्षेत्रमा नदीले ठूलो क्षति पुर्‍याएको छ। २०० रोपनीभन्दा बढी जग्गा कटान गरिसकेको छ,” उनले भने। 

नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार सबस्टेसनका विद्युत् पोल जोखिममा परेका छन् । सबस्टेसन आसपासका बस्तीसमेत जोखिममा छन्। “नदीले गत वर्ष जस्तै कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, सबस्टेसनको क्षेत्रसमेत जोखिममा पर्न सक्छ,” मगरले भने। 

कटानका कारण देवीटार बजार उच्च जोखिममा रहेको स्थानीय महेन्द्र पुरीले बताए। “गत वर्ष पुलको छेउको एउटा घर त अलिकति खसाल्यो नै, हाम्रा घर पनि उच्च जोखिममा छन्, सिंगो बजार नै जोखिममा छ,” पुरीले भने। 

नदी कटान नियन्त्रणको लागि पर्खाल लगाउने काम शुरू भएको छ। विगतमा पनि देवीटार फाँटको मुनी कटान गरेको ठाउँमा यस्ता पर्खाल लगाउने गरिएको थियो। तर नदीले पर्खाल भत्काउँदै खेत कटान गर्दै गएको बाबुराम पुलामी बताउँछन्। कटान नियन्त्रणका लागि तलदेखि माथिसम्म बलियो तटबन्धन गर्नुपर्ने उनको सुझाव छ।