म कोइलाखादको मुसाफिर!

एसएलसी/एसईई पास गरेको श्रमिक एउटै भेटिनँ, एक प्रकारले सीमान्तकृत वर्ग कोइला खोस्रिन त्यो भेगमा पुगेको थियो।  खादभित्र सधैँ अन्धमुष्टी हुन्छ, श्रमिकका टाउका टाउकामा ‘टर्चलाइट’ जोडिएको हुन्छ।

वैदेशिक रोजगारीले उब्जाएको दशा र मनोदशामाथि आठ वर्षअघि ‘रेमिटल्यान्ड’ उपन्यास ल्याएर म चुपै बसेको थिएँ। लेखनमा केही नवीनतम विषयको खोजी र नवीन खुराक बटुलौँ भन्ने हुटहुटी सधैँ थियो। संयोगले भारतको मेघालयमा रहेका कोइलाखानी र ती खानीमा हाम्रै पूर्वी पहाड हुँदै काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेका छन् भन्ने कथा–व्यथा पनि सुन्दै आएको थिएँ। 

रेमिटल्यान्ड उपन्यास नआउँदै एउटा चिनारु साथीको सम्पर्क र सहयोगले म मेघालयका कोइलाखानी पुगिसकेको थिएँ। अझ पछि त्यहाँ पुगेका पुस्ता–पुस्ता नेपाली परिवारको कथा–व्यथाले तानिएर र आफ्नै पनि सम्पर्क बढ्दै गएर निकै पटक मेघालय पुगेँ। एक दशकको अवधिमा सबै गरेर झन्डै ६ महिना जति त्यहाँका कोइलाखानीका श्रमिकमाझ बसें, खानीभित्रै पसें।

सबैले भन्ने र सुन्ने कोइलाखानीलाई स्थानीय ठाउँ र लवजमा कोइलाखाद भनिँदो रहेछ। कोइलाखानी भनेको अलिक बृहत् हो, जहाँ भित्रै खानीसम्म ट्रक र अरू मेसिनरी हातहतियार लैजान सकिन्छ। तर, कोइलाखाद भनेको पहराको भित्तो, गहिराइ र मुस्किलको जग्गा हो। यसलाई खानी होइन, खाद भनिन्छ। कोइलाखानी अलिक बढी व्यापारिक स्थान हो भने श्रमिक आफै चेप्टिँदै र घिस्रिँदै जाने ठाउँ हो कोइलाखाद। खादमा काठको ठेलामा झैँ जस्तो गाडीमा कोइला ओसार्ने, तख्तीका भरमा हिँड्ने अनेक गतिविधि हुन्छ। खादभित्र सधैँ अन्धमुष्टी हुन्छ, श्रमिकका टाउका टाउकामा ‘टर्चलाइट’ जोडिएको हुन्छ। 

बंगलादेश सीमावर्ती (१२ किलोमिटर वर) छेरुपी भन्ने इलाकामा कोइलाखादको रमिता लागेको हुन्थ्यो, जसलाई नेपालीहरू सजिलो लवजमा ‘छुर्पी’ भन्छन्। मेघालयको राजधानी सिलोङबाट १२८ किलोमिटर दूरीमा पर्ने छिल्पी आसपासमा रहेर मैले कोइलाखाद अनुभव गर्न पाएको थिएँ। मेघालयका ११ जिल्लामध्ये जयन्ता, खासी, गारो हिल्समा सबैभन्दा बढी कोइलाखानी रहेछन्। गारो हिल्समा भने त्यति नेपाली जाँदैनन्। पहिलो पटक एक दशकअघि कोइलाखाद (क्वारी एरिया) पुग्दा हामी कुनै आदिम र ढुङ्गे युगमा हामी छौं किजस्तो अनुभव हुन्थ्यो। अहिले भने मोबाइल, फेसबुक र सामाजिक सञ्जालका कारण पनि धेरै कुरा थाहा भइरहेको हुन्छ—भित्र वा बाहिरको।

नेपालबाट काठमाडौँ उपत्यका आसपासका सिन्धुपाल्चोक, धादिङ, रसुवासहितका जिल्ला र पूर्वमा पाँचथर, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, झापा, मोरङजस्ता जिल्लाबाट निकै बाक्लो संख्यामा श्रमिकहरू गएका हुन्थे। आफ्नो उपन्यास कोइलाखादमा सन् १९८८ देखि २०१४ सम्मको कथा हालेको छु, जहाँ नेपालीको पुस्ता–पुस्ता वा गरिबीका कारण अरू उपाय सकिएर ती खानीहरूमा जीवन कटाइरहेका नेपालीको दैनिकी जोडिएको हुन्थ्यो। मेरो भोगाइ र अनुभवलाई जीवन्त बनाउन त्यहाँ भेटिएका नेपाली श्रमिकको सही नाम र दैनिकीलाई आख्यानीकरण गरेको छु। सन् २०१४ मा भारत सरकारले कोइलाखानी बन्द गरे पनि झन्डै १० प्रतिशत जति श्रमिक त अहिले पनि लुकिछिपी कोइलाकै काम गरिरहेका भेटिन्छन्।

म भने आफूले लेखेका कुरा ‘भेरिफाइ’ गर्न, उच्चारण र लवजको तालमेल मिलाउन पनि दोहोराउँदै कोइलाखाद गइरहेको हुन्थें। यथार्थ के हो भने हाम्रो गाउँघरमा रहेको एउटा अशिक्षित वर्ग छ, जो पैसाको अभावमा मलेसिया/कतार पनि जान सक्दैनन्, ती कोइलाखानी जान्छन्। फेरि कतिका त पुस्ता–पुस्ता गएका छन्। भारतमै पनि दिल्ली, मुम्बइसम्म जान नसक्नेहरू यताका खानीमा पुगेका छन्। कति लहै लहैले पनि गएका छन्। पैसा खर्च नहुने र एक पैसा पनि लगानी नचाहिने अवस्थामा ससानो गर्जो टार्न सकिने उपायमा कोइलाखाद जानेहरू धेरै भेटिन्छन्। आश्चर्य के छ भने यतिको वर्षको भ्रमण र अध्ययनमा मैले एसएलसी/एसइइ पाससम्म गरेको श्रमिक एउटै भेटिनँ, एक प्रकारले सीमान्तकृत श्रमिक वर्ग कोइला खोस्रन त्यो भेगमा पुगेको थियो।

संयोगले मेरो साथी थियो कोइलाखादको सरदार, जो ठेकेदारजस्तै थियो। उसैको साथ–सहयोगले खादका भित्रभित्रसम्म म पुग्न सकेँ। खासी जातीको जीवन र रहनसहनमा मिसिन सकेँ। खानीमा काम खोज्दै जाने एक्लाहरूलाई (एक्लै गएकालाई) मुसाफिर भनिँदो रहेछ, मुसाफिरले नेपाली परिवारले चलाएको लंगर (साझा भान्सा)मा खाना खान्छन्। परिवार लिएर जाने र बस्नेहरू भने अलग्गै भेटिन्छन्। 

कोइला निकालेको पेमेन्ट पनि सात दिनमा दिइन्थ्यो, अरू हरहिसाब पनि सात दिनमै हुन्छ। ‘६ महिने पार्टी’ हुन्छ अर्को। कोइलाखाद काममा बोडो, त्रिपुरा, कछाड, बंगाली, खासी सबै हुने गरेका छन्। खासमा भूभाग नापी नै नभएको जग्गा हो कोइलाखाद। तर, कागजात नभए पनि स्थानीय खसिया समुदायको अधिकारमा रहेको जमिन हो। 

कहिलेकाहीँ कोइला खन्ने काम गर्दागर्दै सुरुङ खस्छ, यसलाई फल्लर भनिन्छ। कहिले पाखा भित्ताबाट आएको पानीको बहावले मजदुरलाई थिच्छ। पहिला पाखाभित्तामा हुन्थ्यो खानी हुन्थ्यो, अहिले सकिँदै गयो। पछि त बक्स–कटिङमा जान थाल्यो, समतल जमिनमै कोइला खोतल्न थालियो। ४० फिटबाट सुरु भएको कोइला खानी (खन्ने) गहिराइ अहिले २ सय फिट तलसम्म पुगेको छ। तल पानी आइसकेको हुन्छ, ‘किलोसर’ (किर्लोस्कर) भनिने ठूलो कोठाजत्रै मेसिनले पानी बाहिर फालिरहेको हुन्छ। 

हरक्षण सावधानीमा बस्नुपर्ने र श्रम गर्नुपर्ने थातथलो हो खाद। कोइला निकाल्ने खानीमा छिरेपछि कम्तीमा एउटा बक्सा (१७५ केजी कोइला भरिने) काम पुरा गरेर मात्रै त्यो बक्सा माथि ल्याइन्छ, सामान्यतया पनि २ बक्सा कोइला एक दिनमा एक श्रमिकले भरेकै हुन्छ। त्यस बराबर १२ सय आइसी जति दाम पाइन्छ। खानीभित्र लगातार २/३ दिन बसेर एकैचोटी बाहिर आउने वा पेस्की लिएर काम गर्नेहरू पनि त्यहाँ भेटिन्छ। जमिन मुनीबाट कोइलामाथि निकालेर राखिएको हुन्छ, कतै डिपो पनि हुन्छ। अनि बंगालीहरू आएर ट्रकमा ओसार्छन्, मारवाडीहरूले पनि लैजान्छन्। ती ठुला कारोबारीलाई भने ‘मुन्सी’ भनिन्छ।

मेरो बुझाइमा अझै पनि भारतमै बिजुली उत्पादनको एउटा हिस्सा कोइलाले समातेको छ। केही कलकारखाना, कार्बन कम्पनीमा पनि कोइला चाहिन्छ नै। कोइला खानीमा जो, जताको भए पनि नेपाली बोल्छन्। बंगाली, खासी सबैले नेपाली बोल्छन्। जनजिब्रोको भाषा कोइलाखाद समाउन र एउटा बहावमा हिँड्न मलाई झन्डै ७ वर्ष लाग्यो। मलाई के लाग्छ भने कोइलाखाद एउटा भूगोलको इतिहास हो, जहाँ नेपाली श्रमिक जोडिएका थिए, छन्। त्यसमा पनि तामाङ बढी छन्, बाहुन–क्षेत्री थोरै छन्। मेरो हिसाबमा झन्डै सबै जात र वर्णका नेपाली श्रमिक होलान् कोइलाखादमा, तर मधेसतिरका भने त्यति देखिँदैनन्।

यो समय र स्पेसको अलग दुनियाँमा बसेर मैले उपन्यास लेख्न चाहेँ। खासमा १५ वर्षयता मेघालयका कोइला खानीहरूमा बस्दै आएको एउटा सरदार साथीका कारण यो उपन्यास लेख्न सम्भव भएको हो। यो साथी पनि नेपालमै केही गर्ने भनेर बीचमा घर आयो पनि। तर, यताको अवस्था र माहौलमा आफू जँच्न नसकेर फेरि उतै कोइलाखाद फर्कियो। 

मैँले लेखेको उपन्यास ‘कोइलाखाद’मा नेपालको बयान छैन, बरु नेपाली श्रमिकको मात्रै कुरा छ। कोइलाखादमा एउटा समाजको निर्माण भयो, मैले लेखेको कथा यही हो। तर, त्यो समाजको अन्त्य पनि त्यहीँ भयो। एउटा कालखण्ड जहाँ नेपाल र नेपालीको श्रम, पसिना र पहिचानको कथा छ। 

खासमा हाम्रो लिम्बुवान इतिहासमा चलेको किपटजस्तै रहेछ कोइलाखाद। त्यो भूभागमा र त्यो अलग श्रमको जगतमा खासी जातीलाई खुसी पारे त्यहाँ बस्न पाइन्छ, नत्र उपाय छैन। जोसुकै भए पनि बाहिरको समुदायलाई ‘डखार’ भनिने रहेछ। खासीले गर्ने व्यवहार सबैका निम्ति उस्तै हो, भेदभाव रहन्न। 

यस कारण कोइलाखाद त्यो समयको एउटा दस्ताबेज हो, जुन दस्तावेजीकरण हुनै पर्छ भन्ने मलाई लागेको थियो, भयो पनि। एउटा लेखक वा आख्यानकारले दस्ताबेजमा ल्याउने पक्ष एउटा होला। यो एउटा समाजशास्त्र, भूगोलशाश्त्रीले गर्नुपर्ने अभिलेखीकरणको काम हो। आफ्नो विवेक र क्षमताले भ्याएसम्म मैले यो इतिहासलाई आख्यानको दस्ताबेजमा उतारेको हुँ, तथ्य–कथ्य सहितको आख्यान।

(सिंघकको यो साता मात्रै ‘कोइलाखाद’ आख्यान सार्वजनिक भएको छ।)