तथ्यांक सुरक्षालाई लिएर ईयूमा टिकटकलाई ५३ करोड युरो जरिबाना

युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीको पहुँचमुक्त रहेको भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो जरिबानाको घोषणा गरेको छ।

युरोपियन युनियन (ईयू)अन्तर्गतको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो (करिब ६० करोड अमेरिकी डलर) बराबरको जरिबानाको घोषणा गरेको छ। युरोपेलीहरूको व्यक्तिगत तथ्यांकमा चिनियाँ अधिकारीले पहुँच स्थापित गर्न सक्दैनन् भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूले टिकटकविरुद्ध यति ठूलो जरिबानाको घोषणा गरेको हो।

संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिबानाको अपिल गर्ने योजना बनाएको बताएको छ। उसले युरोपेली प्रयोगकर्ताको तथ्यांकका लागि चिनियाँ अधिकारीबाट ‘कहिल्यै अनुरोध प्राप्त नभएको’ बताएको छ।

आयरल्यान्डको तथ्यांक सुरक्षा अनुगमन संस्थाका अनुसार चीनको स्वामित्वमा रहेको विश्वप्रसिद्ध सामाजिक सञ्जाल टिकटकले अनुसन्धानका क्रममा चीनमा युरोपेली तथ्यांक ‘होस्ट’ गरेको स्वीकार गरेको थियो।

टिकटकले डाटा ट्रान्सफरको वैधानिकताबारे अनुसन्धान गरेपछि इयूले लगाएको यो दोस्रो ठूलो जरिबाना हो। सन् २०२३ मा आयरल्यान्डको तथ्यांक संरक्षण आयोगले टिकटकलाई ३४ करोड ५० लाख युरो जरिबाना गरेको थियो।

टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको एक अंग हो। टिकटकका साथै गुगल, मेटा र एक्सजस्ता अन्य सामाजिक सञ्जाल युरोपेली मुख्यालय आयरल्यान्डमा भएकोले आयरिस प्राधिकरण सामाजिक प्लेटफर्मका लागि युरोपमा प्रमुख नियामक हो।

डीपीसीका उपआयुक्त ग्राहम डोयलले भने, “टिकटकले युरोपेली प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक चिनियाँ कर्मचारीको पहुँचमुक्त छ र ईयूले ग्यारेन्टी गरेको स्तरको सुरक्षा प्रदान गरिएको छ भनी पुष्टि, सुनिश्चितता र प्रदर्शन गर्न असफल भएको छ।”

डोयलले एक विज्ञप्तिमा भनेका छन्, “टिकटकले चिनियाँ आतंकवादविरोधी, जासुसीविरोधी र टिकटकले पहिचान गरेका अन्य कानूनअन्तर्गत युरोपेलीहरूको व्यक्तिगत तथ्यांकमा चिनियाँ अधिकारीहरूको सम्भावित पहुँचलाई सम्बोधन गरेको छैन।”

उक्त फैसलाको जवाफमा टिकटक युरोपकी क्रिस्टिन ग्राहनले भनिन्, “टिकटकले कहिल्यै पनि युरोपेली प्रयोगकर्ताको तथ्यांक चीनलाई उपलब्ध गराएको छैन। हामी यो निर्णयसँग असहमत छौँ र अपिल गर्ने छौँ।”

चीनले जासुसी वा प्रोपोगान्डाका लागि व्यक्तिगत तथ्यांक प्रयोग गर्न सक्ने डरले टिकटक वर्षौंदेखि पश्चिमा सरकारको घेराबन्दीमा परेको छ। रासस/एएफपी