फार्मर मार्केट : स्थानीय उत्पादनको किनमेलसँगै भेटघाटको जङ्क्सन

हरेक उमेर समूहका नेपाली तथा विदेशी नागरिक चिया–कफी, भेटघाट, पारिवारिक समय र नयाँ स्वादको खोजीमा ‘फार्मर मार्केट’ आउने गरेका छन्। तर यस्ता मार्केटमा सामानको मूल्य केही महँगो हुने उनीहरूको गुनासो छ।

काठमाडौँ– ललितपुरको मंगलबजार, काठमाडौँको असन, इन्द्रचोक र वसन्तपुरमा डोको र खर्पन बोकेर किसानले आफ्ना कृषिउपज बेच्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। यस्ता मार्केटले आर्थिक कारोबारसँगै सांस्कृतिक र सामाजिक गतिविधिलाई गाउँ–शहर जोड्छ। शहरी योजनाविद् किशोर थापा भन्छन्, “फार्मर मार्केट उत्पादक र उपभोक्ताको भेटघाटको थलो हो, जसले गाउँ र शहरलाई जोड्छ।”

युरोप र अमेरिकामा फार्मर मार्केटका लागि निश्चित स्थान तोकिएको हुन्छ। शहरी विकास योजना बनाउँदा नै यस्ता मार्केटलाई प्राथमिकता दिइन्छ। यस्ता स्थानमा ग्रामीण भेगका उत्पादनको क्रयविक्रयसँगै सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छन्। यस्ता गतिविधिले शहरलाई जीवन्त बनाउँछ र गाउँका उत्पादनलाई शहरवासीमाझ पुर्‍याउँछ। त्यसैले सयौँ वर्षदेखि यस्तो मार्केट सफल रूपमा सञ्चालन भइरहेको शहरी योजनाविद् थापा बताउँछन्। 

नेपालमा पनि काठमाडौँ र ललितपुरका कतिपय स्थानमा हरेक शनिबार बिहान ७:३० देखि दिउँसो १ बजेसम्म फार्मर मार्केट सञ्चालन हुन्छ। ग्रामीण क्षेत्रका किसानले मिहिनेतसाथ उत्पादन गरेका सामानको बजार शहर नै हो। त्यसैले गाउँमा उब्जाइएका ताजा तरकारी, फलफूल, गेडागुडी र हस्तकलाका सामानले सजिएका फार्मर मार्केट काठमाडौँ उपत्यकाको विशेष आकर्षणको केन्द्र पनि बन्दै गएको छ। यस्ता मार्केटमा को–को र किन जान्छन्?

हामी ललितपुरको लि शेर्पा फार्मर मार्केट पुग्दा हरेक उमेर समूहका मानिसको भीड देखिन्थ्यो। नेपालीसँगै विदेशी नागरिक पनि उत्साहसाथ सामान किनमेल र खानपानमा रमाइरहेका थिए। कोही नेपाली परिकारको स्वाद लिइरहेका थिए भने कोही चिया–कपीसँगै साथीभाइबीच गफगाफमा मस्त थिए। ताजा तरकारी, फलफूल, हस्तकलाका झोला, गहना, कपडा र अर्ग्यानिक खाद्यवस्तु किन्नेहरूको भीड पनि उस्तै थियो।

मार्केटको बीचमा चियाको टेबुलमा भेटिएका कलंकीका भवानी पोखरेल (२३) हरेक शनिबार यहाँ आउँछन्। ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी पढ्ने भवानीले यो मार्केटको चियाको स्वाद र सामानको विविधता मन पराउँछन्।

उनी चियाको स्वाद गज्जब हुने भएकाले हरेक पटक आउँदा चिया खाएर फर्किने गरेको बताउँछन्। “यहाँ मह, च्याउ, केरा र भान्सामा चाहिने सामान सधैँ किन्छु। मह त एकदमै राम्रो लाग्छ,” उनले भने। भवानीलाई यो मार्केटबारे भाइले बताएपछि उनी नियमित आउन थालेका हुन्।

धुम्बराहीकी सफ्टवेयर इन्जिनियर सिरिसा रेग्मी (२६) श्रीमान्सँग हरेक शनिबार फार्मर मार्केटमा ‘फन’ गर्न आउँछिन्। “शनिबार ‘टु ह्याब फन’ भनेर नै आउँछु,” सिरिसाले हाँस्दै भनिन्। सिरिसालाई यहाँको खाना र ताजा तरकारी मन पर्छ, तर सामान अलि महँगो भएको उनको गुनासो छ। 

मार्केटमा अमेरिकी नागरिक लिया भिग (२४) हस्तकलाका गहना किन्दै थिइन्। डिप्लोम्याटिक स्टडिजमा स्नातकोत्तर गरेकी लिया नेपालमा थेसिस रिसर्चका लागि आएकी हुन्। नेपालको नेपालगन्ज, रुपन्देही र कपिलवस्तु उनको रिसर्चका लागि तोकिएको जिल्ला हुन्। उनलाई लि शेर्पा फार्मर मार्केटको शान्त वातावरण र नेपाली हस्तकलाका सामानले आकर्षित गरेको छ। “यहाँको ब्रेड, कपडाको झोला र इयररिङ्स धेरै राम्रा लाग्छन्,” उनले भनिन्।

त्यस्तै, फ्रान्सेली नागरिक मार्क र उनकी श्रीमती काभ्रेकी कमला तामाङ हरेक शनिबार अर्ग्यानिक सामान किन्न मार्केट आउँछन्। ताजा तरकारी, पाउरोटी, चिज र नेपाली वाइन उनीहरूको रोजाइमा पर्छ। “नेपाली पतलेवन वाइन र चिज एकदम मिठो छ,” मार्कले उत्साहित हुँदै भने। कमलालाई पनि मार्केटको ताजा तरकारी र वातावरणले लोभ्याउँछ।

फार्मर मार्केट केवल किनमेलको थलो मात्र होइन, यो सामाजिक र सांस्कृतिक भेटघाटको केन्द्र पनि हो। मैतीदेवीकी वर्षा खड्का श्रीमान् र छोरासँग पारिवारिक समय बिताउन मार्केट आउँछिन्। “अफिस र घरको कामले थाकेको मनलाई यहाँको खाना र कफीले ताजगी दिन्छ,” उनले भनिन्।

त्यस्तै, फिल्म मेकर शान्ता नेपालीलाई भने यो मार्केट ‘कुलीन वर्ग र विदेशीको मार्केट’ जस्तो लाग्छ। “यहाँ सामान धेरै महँगो छ, सामान्य नेपालीले किन्न सक्दैनन्,” उनले गुनासो गरिन्। तैपनि, उनी विदेशी साथीहरूसँग कामका सम्बन्धमा छलफल गर्न नियमित आउँछिन्।

बालबालिका र युवाको रुचि
फार्मर मार्केटमा बालबालिका र युवाको पनि उत्तिकै आकर्षण छ। सेन्ट मेरिज स्कुलकी अदिति बजगाईँ (१४) र हिमान्सी घिमिरे (१६)  नेपाली हस्तकलाका सामान किन्दै थिए। बास्केट बल खेल्न रुचाउने अदिति र हिमान्सी समय मिल्दा मार्केट आउने गर्छन्। अदितिले यस्ता मार्केटबाट नेपाल उत्पादनको प्रवर्द्धनमा सघाउन पुग्ने बताउँछिन्। हिमान्सीले मार्केटमा धेरै प्रकारका सामान पाइने भएकाले घुम्न रमाइलो लाग्ने बताइन्।

“चाइना तथा इन्डियाको भन्दा पनि नेपाली सामान किन्दा खुशी लाग्छ। नेपाली उत्पादनको प्रवद्धनका लागि यस्ता मार्केट राख्नु पर्दछ,” अदितिले भनिन्। उनीहरूले चकलेट, झोला, लिपबामजस्ता सामान किने।

भैँसीपाटीकी वृष्टि धमला (१३)लाई व्यापारमा रुचि छ। उनी मार्केटमा गहनाको डिजाइन हेर्न र नोट बनाउन आउँछिन्। “यहाँ धेरै डिजाइनका गहना हुन्छन्, म हेर्न आउँछु र नोट पनि बनाउँछु,” उनले भनिन्।

त्यस्तै, बुढानीलकण्ठकी काराला छोमोदोङ (८) आमासँग पिज्जा र चकलेटको स्वाद लिन मार्केट पुग्छिन्। उनकी आमा सोनमलाई ताजा तरकारी र आफन्तसँगको भेटघाटले मार्केट आकर्षक लाग्छ। “ललितपुरमा मार्केटनजिक आफन्त बस्नु हुन्छ, भेटघाटसँगै ताजा सामान पनि किन्न पाइन्छ, छोरीलाई घुमाउन हुन्छ भनेर यहाँ आउँछु,” सोनम भन्छिन्। 

काठमाडौँ र ललितपुरका केही फार्मर मार्केट अहिले पनि सञ्चालनमा छन्, तर भनिमण्डल र पाटनको एल्लो हाउस फार्मर मार्केट बन्द भएका छन्। एल्लो हाउस रेस्टुरेन्टले भने दुई–तीन महिनाको अन्तरालमा नाइट मार्केट आयोजना गर्ने गरेको गरेको म्यानेज शिवआशिष राईले बताउँछन्। लि शेर्पा र लबिङ मल फार्मर मार्केट भने नियमित सञ्चालनमा छन्।

फार्मर मार्केट गाउँ र शहरको साझा मेला हो, जहाँ ताजा तरकारी, अर्ग्यानिक खाद्यवस्तु, हस्तकला र स्वादिष्ट परिकारको स्वाद लिन सकिन्छ। यो मार्केटमा हरेक उमेर समूहका नेपाली र विदेशी नागरिकको उपस्थितिले सामाजिक र सांस्कृतिक विविधता झल्किन्छ। फार्मर मार्केटले गाउँका उत्पादनलाई शहरसम्म पुर्‍याउन र नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि सामानको मूल्य केही महँगो भएको उपभोक्ताको गुनासो छ।