कोशीमा लगानी सम्मेलन: १ खर्ब ५२ अर्बको सम्झौता

शुक्रबार सकिएको सम्मेलनमा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

मोरङ– कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ।

कोशी प्रदेश सरकारद्वारा वैशाख १८ र १९ गते आयोजित ‘कोशी प्रदेश लगानी सम्मेलन-२०२५’ मा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको हो । 

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी १२, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी १० र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता सम्पन्न भएको छ। 

निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ। प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रदर्शनमा राखी अनुमानित लागत रु एक खर्ब ७३ अर्ब ४९ करोड तोकेको थियो।