ढुंगामाटो, खोलानाला, पशुपन्छी, बोटबिरुवाले राष्ट्रको परिभाषा गर्नै सक्दैन। भूगोलले राष्ट्रियता जोगाउने पनि होइन। राष्ट्र भनेको जनता जनार्दन हुन्। जनसमुदायकै पहिचान र सभ्यता हो।
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाईंको पहाड घर कहाँ हो?’ त्यसपछि, ‘आफू कस्मा?’ भनेर जात–बिरादरी सोध्छन् या सोध्लान्। पहाडमा पुर्ख्यौली थातथलो भएकाबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आमवाक्य हो। जसरी उपत्यकाका रैथाने समयअनुसार ‘तपाईंले चिया खानुभयो, खाजा खानुभयो, खाना खानुभयो?’ भनेर अनायास सोध्ने गर्छन्। यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो।
राष्ट्रको परिभाषा
पछिल्लो पटक नेपालको संविधानले राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त’ भनेर परिभाषित गर्यो। बहुभौगोलिक भनेर गरेन, नेपाली समुदायको जनसांख्यिक विविधतालाई सम्बोधन गर्यो। तर नेपाल राज्यको नयाँ संघीय इकाई निर्माण गर्दा वा राज्यको नयाँ रचना गर्दा परिभाषाअनुसार गरिएन। पूर्वी नेपालका १४ जिल्लाको गणितीय भूगोललाई प्रदेश बनाइयो र ‘कोशी’ नामकरण गरियो। यसैले अहिले पनि त्यहाँ पहिचानका आधारमा नामकरणको माग भइराखेको छ।
कोशी नामकरण पहाडे खस नस्लको कथित गोत्रको हवाला दिएर गरेकोमा अन्यथा लिइरहनुपर्दैन। यो नामले न त मधेश–तराईका रैथाने न त थातथलो खुलेका आदिवासी जनजातिको पहिचान सम्बोधन गर्छ। पहाडमा बस्ने एक खास नस्लको किम्बदन्तीमा आधारित गोत्रको परम्परागत पहाडे राष्ट्रवादलाई निरन्तरता दिन पञ्चायतले राखेको कोशी नामलाई ठप्पा लगाइदियो। यस्तो अवस्थामा वर्षौं परदेसिएका पहाडियाको भेट हुँदा उनीहरूले भन्ने नै भए, ‘तपाईंको पहाड घर कता हो?’
पञ्चायती धङधङी
पञ्चायतले पछिल्लो पटक राष्ट्रियताको एउटा भाष्य निर्माण गरिदिएको छ। त्यो हो–भौगोलिक राष्ट्रियता। पूर्वी पहाडको राष्ट्रियता अब वल्लो किरात, पल्लो किरात र माझ किरात वा लिम्बुवान रहेन। समग्र पहाडी मूलको भौगोलिक राष्ट्रियता बन्यो। सोलु, ओखलढुंगा, संखुवासभा, ताप्लेजुङ आदि बन्यो।
यसैले हिमालमा बस्नेहरू पनि पहाडी जिल्लाका नामले चिनिने भए। तराईमा त मिथिला, भोजपुरा, अवध होइन सुनसरी, मोरङ, सप्तरी र धनुषा आदि नामका भए। पहाडी राष्ट्रियतालाई स्थापित गर्ने मनोविज्ञानअन्तर्गत हिमाल र मधेशलाई विस्थापित गर्ने योजना हुनसक्छ।
यसैले तराई वा हिमालमा बस्नेलाई उसको वतन सोध्ने चलन छैन। नेपाली राष्ट्रियताको अन्तर्य यही हो। त्यसैले पहाडिया पूर्व–पश्चिम जहाँका हुन्, तिनले भेट्दा पहिलो थेगो हुन्छ, ‘तपाईंको पहाड घर कहाँ हो?’
नेपालको यो आधुनिक स्वरूप बन्नुभन्दा अघि पनि नेपाल थियो। किरात, लिच्छवी र मल्लकालमा पनि वर्तमानको नेपालको करिब यही स्वरूपको समग्र नाम नेपाल हो, भलै यहाँभित्र बाइसी, चौबिसी, उपत्यकामा तीन र उपत्यकापूर्व तीन गरी ५२ गणराज्य थिए। तिनै गणराज्यको ऐतिहासिक स्वरूप आधुनिक नेपालको इतिहास हो।
तर, एकत्रित स्वरूपको राज्य विस्तार गर्ने काम पहाडको गोर्खा राज्यले गर्यो। यसैले धेरैले संकेत गरेझैँ नेपाली राष्ट्रियताको निर्माण त्यही पहाडले गर्यो। त्यसो हुँदा, पहाड र पहाडियाले निर्माण गरेको राज्य र राष्ट्रियतामा अन्यले अपनत्व ग्रहण गर्न नसकेको हो।
नेपालको ‘एकीकरण’ वा ‘गोर्खा राज्यको विस्तार’ दुई कुराको छिनोफानो नहुन्जेल नेपाली राष्ट्रवादको चुरोबारे तर्कतरंग चलिरहन्छ। पहाड त वर्तमान राष्ट्रवादको मुख्य धमनी हो, जहाँबाट रक्त सञ्चार भइरहन्छ। अमिबाको न्युक्लिअस र त्यसलाई सघाउने प्लाज्माको नियति यस्तै हुन्छ भनेर उदाहरण दिनु यहाँ सटिक हुन्छ। हिमाललाई नजरअन्दाज गर्ने र मधेशलाई परहेजमा राख्ने राष्ट्रियताको राग आउन्जेल भेटघाट हुँदा मान्छेहरूले भन्ने नै भए, ‘साँच्ची तपाईंको पहाड घर कता हो?’
फूल, पशुपन्छी राष्ट्रिय?
राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय पन्छी डाँफे उच्च पहाडी र हिमाली भेगमा मात्र पाइन्छ। नेपालको आधिकारिक निशान छापमा गुराँस फूलको मालाले नेपालको नक्सामाथि पहाड सिँगारिएको देखाइएको छ। राष्ट्रिय जनावर गाई, राष्ट्रिय रङ सिम्रिक घोषित छ। गाई सर्वत्र पाइने जनावर हो। सिम्रिक रातो रङको चूर्णबाहेक केही होइन। संवैधानिक रूपले राष्ट्रिय चिज वस्तुको हैसियत पाएका यी वस्तु कुन नेपाली समुदायको राष्ट्रिय पहिचान र सभ्यतासँग सम्बन्धित छ? नेपालमा मात्रै पाइने भएर राष्ट्रिय भएका हुन् भने अन्यत्र देशमा पनि त यी बस्तु पाइन्छन्।
कमसेकम आदिवासी–जनजाति, मधेशीलाई त सम्बोधन गर्ने यी चिज होइनन्। खस–आर्यलाई पनि त गर्दैन। एउटा धर्मविशेषको धार्मिक मनोविज्ञानसँग सम्बन्धित पशु (गाई)लाई राष्ट्रियको दर्जा दिएर कस्तो नेपाली राष्ट्रियता निर्माण गर्न खोजिँदै छ? त्यो पनि धर्मनिरपेक्षताको लेपन लागेको संविधानको अगाडि? यही धङधङीमा आज पनि पहाडको पुर्ख्यौली महत्त्व घटेको छैन। त्यसै कारण अनायास वाक्य फुट्छ, ‘साँच्ची तपाईंको पहाड घर कता हो?’
राष्ट्रियतामा कैफियत
नेपालको यो स्वरूप गोर्खा राज्य विस्तार थियो या एकीकरण? मुख्य राजनीतिक दलको घोषणा पत्रमा यो विषय खुट्टिँदैन। राप्रपा बाहेकका दल गोर्खा राज्यको विस्तार पनि भन्न नसक्ने, एकीकरण भन्न पनि अलमलमा पर्दै आएका छन्। त्यसैले उनीहरू नेपालको राष्ट्रियता, स्वाधीनता, क्षेत्रीय अखण्डताको राग अलापिरहन्छन्। बेला कुबेला राष्ट्रियता र स्वाधीनता धरापमा परेको सुन्नमा आइरहन्छ। राष्ट्रियता खतरामा परेकोले राष्ट्रिय मेलमिलापको नीति आएको कुरा आउँछ। स्मरणीय छ, कुनै बेला पञ्चायतको विरोधमा लाग्नेलाई ‘अराष्ट्रिय तत्त्व’को ट्याग नै लगाएर कारबाही गरिन्थ्यो।
राष्ट्रियताका गलत आख्यानले ल्याएको यो व्याख्यान हो।
विश्वका धेरै देशभन्दा जेठो भारत, अमेरिकाभन्दा पनि जेठो देश नेपाललाई के तलबितल परिरहन्छ र राष्ट्रियता, स्वाधीनता, अखण्डताको भूतले तर्साइ रहन्छ? अतः राष्ट्रियताको व्याख्या नै गलत छ कि भनेर मन्थन किन नगर्ने? परम्परागत अहिलेसम्म राष्ट्रियताको चारदिवारी भूगोल अर्थात् बाह्य राष्ट्रियतालाई मात्र राष्ट्रियता ठानियो। आन्तरिक राष्ट्रियता अर्थात् समुदायको राष्ट्रियतालाई सम्बोधन गरिएन। अहिले पनि गर्ने काम भएकै छैन। आन्तरिक राष्ट्रियता बलियो बनाए बाह्य राष्ट्रियता स्वतः बलियो हुन्छ भन्नेमा दिमागी मन्थन हुन सकेन।
समुदायको पहिचान र सभ्यतायुक्त राष्ट्रियता साम्प्रदायिक एवं जातिवादी हुन पुग्यो। राष्ट्रियताको यही एक पाखे व्याख्यालाई जोगाउन हजार नालीबेली लगाइएको हो। त्यो नालीबेली पहाडे खस राजा महेन्द्रकृत-राष्ट्रवाद हो। यस्ता अलौकिक राष्ट्रवाद सिँगार्न पशुपन्छी, फूल–फलेदो र रङको सहारा लिनुपरेको छ। यसैले त मधेशमा दशौँ पुस्ता बसे पनि मधेशको नाम लिन हिचकिचाहट हुन्छ र गर्वसाथ उनीहरू भन्छन्, ‘हाम्रो पहाड घर फलाना चिलाना ठाउँ हो।’
चन्द्रसूर्य अंकित झन्डाको बौद्धिक विलासयुक्त अर्थ छ। विश्वमा कुनै देशको राष्ट्रिय झन्डाभन्दा फरक, चन्द्रसूर्यले दिने प्रभाव आदिमा बहस हुन्छ। कुनै पण्डाले अनेक अर्थ लगाएको भरमा हाम्रो राष्ट्रियता स्तनधारी जनावर, पन्छी र फूल फलेदो देखाएर राष्ट्रियता अर्थ्याउन अभिशप्त छौँ। भिल्लले मणि खोजेझैँ राष्ट्रियताको जरो किलो खोजिरहेछौँ। चुच्चे नक्सारूपी ख्याली पुलाउको धुन नेपथ्यमा पुगिसक्यो। ‘ग्रेटर नेपाल’रूपी खिचडी बसालेर बलात् नेपाली जनको भावनात्मक मोलतोल भइरहेकै छ।
ग्रेटर नेपालको नक्सा राख्ने महान् राष्ट्रवादी र नराख्ने जति राष्ट्रघाती बनाउने उपक्रम चलेको छ। ग्रेटर नेपालको नक्सा शयन कक्षमा कोरेर राष्ट्रवादको हरिकीर्तन गर्नेबित्तिकै देशको सिमाना फैलन्छ या अर्को राष्ट्रघाती सुगौली सन्धि निम्त्याउँछ? गजराज मिश्र र चन्द्रशेखर पाध्यायको नयाँ अवतारीको भूमिका त गरिरहेका छैनौँ हामी? दक्षिण एशियाको आजको भूराजनीतिमा यो सबै सम्भव हुने कुरा हो? दिउँसै तारा देखाउने सौर्य मण्डलीहरूलाई सोध्न पर्ने प्रश्न हुन् यी। यस्ता ढोँगी राष्ट्रवादबाट बेलैमा सचेत हुन जरुरी छ। प्रेमिकालाई बसमा पार्न सुनको तारा झार्ने कुरा कल्पनामा मात्र हुन्छ। सोम शर्माको सातुको कथा सम्झेर मिठो निन्द्रा आउला तर तन्द्रामा आउँदा घैँटो फुटेर सर्वस्व भइसकेको हुनेछ।
रहल–पहल
भौगोलिक राष्ट्रवादको अर्थ हुन्न। त्यसमाथि एक पाखे–पहाडिया–खास–नस्लीय परम्परागत राष्ट्रियताको त कुनै माने हुन्न। ढुंगा माटो, खोलानाला, पशुपन्छी, बोटबिरुवाले राष्ट्रको परिभाषा गर्नै सक्तैन। भूगोलले राष्ट्रियता जोगाउने पनि होइन। राष्ट्र भनेको जनता जनार्दन हुन्। जनसमुदायकै पहिचान र सभ्यता हो। जनताको अर्थ–राजनीतिक जीवन, साझा भाषा, मनोविज्ञान र गौरव हो।
हिजो राजा महेन्द्रले ‘विकासका लागि राजनीति’को नाममा एकल राष्ट्रवादको नारा छरे। आज ‘विकास र समृद्धि’को नाममा पुरानै राष्ट्रवादलाई कोरल्न खोजिँदै छ। कसै कसैले त अझ ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा भुलाएर सडेगलेको, मिति पुगेको राष्ट्रवादमा आधारित राष्ट्रघात गर्न खोजी रहेका छन्।
चुच्चेढुंगो उही टुंगो भनेझैँ परम्परागत राष्ट्रवादलाई नयाँ लेपन गरिएको आजको राष्ट्रियताको यो भग्नावशेष हो। पहाडे राष्ट्रवादको मालश्री गाउनुको साटो नयाँ राष्ट्रियताको खोजी आजको कार्यभार हुनु पर्छ। अनि मात्र ‘तपाईंको पहाड घर कहाँ हो?’ थेगो वाक्य छुट्नेछ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
