नागढुंगा–नौबिसे सडकखण्ड रातिमा बन्द हुने

नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

काठमाडौँ– त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले शनिबार एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे।

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ। आयोजनाले सीतापाइला–भीमुढुंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध छ। साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने ब्यहोरासमेत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।