एमडीएमएस लागू भएयता १६ लाख मोबाइल भित्रियो

असोजदेखि अनौपचारिक माध्यमबाट आयात गरिएका मोबाइल ‘ग्रे लिस्ट’ मा रहने व्यवस्था गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेयता १६ लाख मोबाइल फोन नेपाल भित्रिएको जनाएको छ। मोबाइलको अनधिकृत आयात तथा ओसारपसार रोक्न प्राधिकरणले भदौ ३० देखि एमडीएमएस प्रणाली प्रयोगमा ल्याएको थियो।

भित्रिएको १६ लाख फोनमध्ये १० हजार ८ सय बढी मोबाइल व्यक्तिगत तवरबाट भित्रिएको छ भने आयातकर्ताहरूमार्फत १५ लाख बढी मोबाइल विभिन्न भन्सार नाकाबाट आयात भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार २९ लाख बढी मोबाइलको आईएमईआई प्राधिकरणमा रजिस्टर भएको छ। एमडीएमएस लागू भएपछि भदौ ३० गतेसम्म नेपाल भित्रिएका र सक्रिय मोबाइल फोनहरू प्राधिकरणको प्रणालीमा स्वतः दर्ता भएको बताइएको छ। नेपालमा दर्ता नभएका मोबाइल नचल्ने बताइन्छ।

के हो एमडिएमएस ?
एमडीएमएस मोबाइल फोनको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न लागू गरेको प्रणाली हो। यस प्रणालीले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ-ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने गरी व्यवस्थापन गर्न सहयोग गर्ने प्राधिकरणको दाबी छ।

प्राधिकरणले भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट तथा सञ्चालनमा रहेको सबै मोबाइल सेट स्वतः प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको थियो। तर, असोजदेखि भने अनौपचारिक माध्यमबाट आयात गरिएका मोबाइललाई ‘ग्रे लिस्ट’ मा रहने व्यवस्था गरिएको छ। हाल परीक्षणका रूपमा रहेको यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि प्रणालीमा आबद्ध नरहेको मोबाइल निश्चित समयपछि नचल्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

मोबाइल सेट खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए-नभएको यकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ। साथै, मोबाइल आयातकर्ता-बिक्रेताहरूले समेत मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई दर्ता गरेर मात्र मोबाइल बिक्री वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

विदेशबाट आफ्नो प्रयोग वा उपहार दिनका लागि मोबाइल फोन ल्याउनुपरे अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरी प्रज्ञापन पत्र लिएर तोकिएको प्रणालीमा यस्तो फोनको विवरण अद्यावधिक गर्नुपर्ने प्राधिकरणले जनाएको छ।