वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

फाइल तस्वीर।

नवलपुर– शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको डीएसपी मधु नेपालले जानकारी दिए। 

सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्नसमेत प्रहरीले आग्रह गरेको छ। सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको डीएसपी नेपालले जानकारी बताए। 

उता, अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ। बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको डीएसपी श्यामु अर्यालले  जानकारी दिए। प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ।