वर्षाका कारण सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ। 

भक्तपुर– अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवतजावत गर्न समस्या  भएको छ। जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलान्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए। 

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा ६ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ। 

सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन दिएको उनले जानकारी दिए। भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ। 

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ। 

गाडी चिप्लिएर खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो। बाटो हिलाम्मे हुँदा  ठूला सवारीसाधन माथि उक्लिनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ।