टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट दाहालद्वय सम्मानित

खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा योगदान दिएको भन्दै अमेरिकाको टेक्ससस्थित हेम–सरिता पाठक फाउन्डेसनले दाहालद्वयलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।

काठमाडौँ– खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाएको भन्दै उकालोकर्मी दिपा दाहाल सम्मानित भएकी छन्।

अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनले दाहाललाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो। सोही पुरस्कारबाट मातृका दाहाल पनि सम्मानित भएका छन्। दाहालद्वयलाई शनिबार काठमाडौँमा आयोजित विशेष समारोहबीच जनही १ लाख रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।

सांसद सिंहले दाहालद्वयको पत्रकारितालाई ‘लोकतन्त्रका पहरेदारको भूमिकामा स्थापित उदाहरणीय योगदान’ भनेका थिए। “यस्ता पत्रकारहरूको निडरता र प्रतिबद्धताले राज्य संयन्त्रलाई पनि सोधिने प्रश्नको सामना गर्न बाध्य बनाइरहेको छ,” उनको भनाइ थियो।

हेम–सरिता पाठक फाउन्डेसन सन् २०१० मा अमेरिका र नेपालमा दर्ता भएको गैरनाफामुखी संस्था हो। फाउन्डेसनका प्रमुख संरक्षक पाठकका दिवंगत अभिभावक टंकप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा स्थापित यो संस्थाले शिक्षा, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको छ।

फाउन्डेसनले आफ्नो यात्रा सन् २०१२ मा झापाका १६ जना आर्थिक रूपमा कमजोर बालबालिकालाई स्कुल पठाएर शुरू गरेको थियो। त्यसयता यसले काठमाडौँको साँखुस्थित घुमर्चोकमा उग्रतारा माध्यमिक विद्यालय निर्माण, भूकम्पपछिको पुनर्निर्माणमा १० जना विपन्न एकल महिलालाई नयाँ घर निर्माण र जीविकोपार्जनका लागि बाख्रा वितरण जस्ता काम गर्दै आएको छ। 

फाउन्डेसनकी अध्यक्ष जेनी पाठकले पुरस्कार वितरण समारोहमा भनिन्, “खोज पत्रकारितालाई निरन्तरता दिने यी दुई पत्रकार हाम्रो लागि गर्वका पात्र हुन्।”

उकालोकर्मी दाहाल विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय हुँदै शक्ति, पहुँच र सम्पत्तिको दोहनमा आधारित भ्रष्टाचारका सञ्जालमाथि धारिलो कलम चलाउँदै आएकी छन्। उनले बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा चौधरी ग्रुपले हडपेको प्रकरण, बालमन्दिरको जग्गा कब्जा, दोलखामा वन मासेर निर्मित केबलकार प्रकरण, खानेपानी ट्यांकी र पोखरा विमानस्थलको विवादको अन्तर्य, नेपाल चिया विकासको जग्गा भाडा अनियमिततालगायत विषयमा खोजमूलक रिपोर्टिङ गरेकी छन्।

उनको खोज पत्रकारिता नीति निर्माण तहमा प्रश्न उठाउने, शक्तिशालीहरूलाई जबाफदेही बनाउने र न्याय खोज्नेहरूको आवाज बन्ने रूपमा स्थापित भएको फाउन्डेसनले जनाएको छ। यसअघि उनले उमा सिंह स्मृति पुरस्कार, एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार, विजय बाबु स्मृति पुरस्कार, बारबरा खोज पत्रकारिता पुरस्कारलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेकी छन्।

मातृका दाहाल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने शरणार्थी काण्ड, बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण, पतञ्जलिको नाममा राज्य सम्पत्तिको दुरुपयोगलगायत राजनीतिक पहुँच प्रयोग गरी भएका शक्तिशाली अनियमितता उजागर गरेका छन्। 

दाहालद्धयका रिपोर्टहरूले सत्ता संरचनाभित्रको मिलीभगतलाई सतहमा ल्याएर जनतालाई जानकारी दिने मात्र होइन, सम्बन्धित निकायहरूलाई अनुसन्धान र कारबाहीका प्रक्रिया अघि बढाउनसमेत बाध्य पारेको फाउन्डेसनले जनाएको छ। 

सोही कार्यक्रममा १ लाख रुपैयाँ राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्टलाई पुरस्कृत गरिएको छ। यस्तै, हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट पत्रकार एवं गीतकार गोपाल थपलिया र संगीतकार एवं गायक शिशिर योगीलाई सम्मान गरिएको छ।