लगातार १५ घण्टा पत्रकार सम्मेलन गरेर मालदिभ्सका राष्ट्रपतिले तोडे जेलेन्स्कीको रेकर्ड

शनिबार बिहान १० बजे शुरू भएको मुइज्जुको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो।

मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टासम्म पत्रकार सम्मेलन गरेका छन्। शनिबार बिहान १० बजे शुरू भएको मुइज्जुको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो।

यससँगै उनले युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ। “राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकर्डस एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो।

मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ। पत्रकार सम्मेलनमा करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको थियो।

मुइज्जुले समाजमा प्रेसको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका थिए। 

मालदिभ्स सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुगेको छ। 

यसअघि मालदिभ्सले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेको थियो।