'टेक्नो-फ्युडल क्यापिटलिज्म' युगमा मार्क्सको सम्झना

पुँजीवाद अहिले 'टेक्नो–फ्युडलिस्ट क्यापिटलिज्म' भएको छ, जसले प्रविधिमाथि पेटेन्ट राइट आफूमा राखेर निरन्तर प्रविधि लगान/कूत लिँदै 'पेरिफेरल ग्लोबल साउथ'को रगत चुसिरहेको छ। 

आज मे ५, जर्मनीको ट्रियर (राइन प्रान्त) शहरमा सन् १८१८ मेको यही दिन पदार्थवादी विश्लेषक एवं महान् दार्शनिक डा. कार्ल हेनरिक मार्क्स जन्मेको दिन।

उनको जीवन पूरै संर्घषमय रह्यो। व्यक्तिगत मात्रै नभई उनको सिंगो परिवारले निकै दुःख कष्ट भोगे। हमेसा खाना र औषधीको अभाव भइरह्यो, केही बच्चा अकालमा बिते। बिरामी परिरहने मार्क्सले कैयौँ पटक फ्रान्स र बेलायतको कष्टकर निर्वासन भोग्नु पर्‍यो। उनीउपर निरन्तर शासकहरूको वक्रदृष्टि पर्‍यो। कठोर असहजता बीच पनि उनले मानव जातिको आजसम्मको इतिहासलाई हेर्ने वैज्ञानिक दृष्टिकोण अर्थात् मार्क्सवादी दर्शन हामीलाई दिए।

उनको दृष्टिकोणले कुनै घटना र सोको कारणलाई रहस्यमय दर्शन र विचारबाट भन्दा भन्दा पनि यथार्थवादी/वस्तुवादी रूपले हेर्छ। आम मानिसलाई पृथ्वी, चराचर जगत् र संसारलाई वास्तविक रूपमा कार्य–कारणको ढाँचामा बुझ्ने चेतना मार्क्सको विचारले दिएको छ। यिनै मार्क्सको अध्ययन, खोजी र निष्कर्षले भन्यो कि आजसम्मको मानव इतिहासका निर्माता नै श्रमजीवी वर्ग हुन्। श्रम नै पुँजी निर्माणको आधारभूत तत्त्व हो र श्रमले नै उत्पादन–इतिहासको विकासलाई निरन्तर बढोत्तरी गरिरहेछ।

त्यसो हुँदाहुँदै पनि समाजले यिनै श्रमिकलाई किन निरन्तर तिरस्कार र शोषण गर्छ? के समाजको यस्तो संरचनागत परिवर्तन कहिल्यै नहोला त भन्दै वर्गविहीन समाज (साम्यवाद) मा मात्रै यो सम्भव छ भन्दै सन् १८४८ मा फ्रेडरिक एङ्गेल्स र उनी मिलेर कम्युनिस्ट घोषणापत्र (कम्युनिस्ट मेनिफेस्टो) लेखे, तब त्यसले विश्वको खास गरी राजनीतिक र प्राज्ञिक वृत्तलाई हल्लायो। त्यस बेलासम्म समाज परिवर्तनको यति डरलाग्दो क्रान्तिकारी र भौतिकवादी व्याख्या कसैले गरेका पनि थिएनन्। युरोपमा मार्क्सजस्तै कान्ट, हेगेल, प्रुँधो र फायरबाखजस्ता दार्शनिकहरूको उत्तिकै चर्चा हुने गर्थ्यो, तथापि उनीहरू आदर्शवादी चिन्तन पच्छ्याउँदै इतिहासको यथास्थितिवादी र अनैतिक धारको समर्थन गर्थे र शासकहरूको पक्ष लिन्थे।

तर मार्क्सले मानव इतिहास पदार्थवादी धारामा हिँड्छ, मानिसहरू आफ्नो इतिहास आफै बनाउँछन् भन्ने मत राखे। र, त यो चलायमान, उत्पादनमुखी र परिवर्तनकारी हुन्छ भन्दै थेसिस अफ फायरबाख (१८४५) मा उनले भने, “दार्शनिकहरूले अहिलेसम्म संसारको व्याख्या मात्रै गरे, तर मूल कुरो त संसार बदल्नु हो।”

मार्क्सको भनाइमा साम्यवाद स्थापना भएपछि मात्रै मानिसले वास्तविक स्वतन्त्रता (उन्मुक्ति/इमान्सीपेसन) को महसुस गर्छन् किनभने उक्त उत्पादन प्रणालीमा 'कमोडिटी फेटिसिज्म' (वस्तुको अधिक आराधना वा सम्मान) अन्त्य हुनेछ र 'ह्युमनिटी फेटिसिज्म' स्थापित हुनेछ अनि वास्तविक संसारमा मानव बीचको जैविक सम्बन्धको पुनर्स्थापना हुनेछ। मानिसबीच एक आपसमा भाइचारा, आदर, माया, प्रेम, सद्भाव, सहसम्बन्ध एवं सहयोग विकसित हुनेछ र सही मानेमा साम्यवादभित्र मानवताजन्य विकसित र नैतिक समाजको चित्र देखिनेछ। पछि लेनिनले समाजवाद (सोसलिज्म) बाट सङ्क्रमण हुँदै साम्यवादमा पुग्ने बाटोको रूपरेखा कोरे र यी दुवै उत्पादन प्रणाली लगभग उस्तैउस्तै देखिन सक्ने पनि बताए।

यस आलेखमा पनि समाजवाद र साम्यवादलाई त्यसरी नै लिइएको छ। तर यति बेला विद्यमान पुँजीवादी उत्पादन सम्बन्धले वस्तु (कमोडिटी–माल) लाई नै पूज्य वस्तु मानेको हुँदा मानवतालाई मरेतुल्य बनाएको छ। यहाँ वस्तु उत्पादन र पुँजीको सम्बन्ध यसरी विकसित हुन्छ कि मानव श्रम (भौतिक वा बौद्धिक) घनघोर शोषणको चपेटामा फस्न जान्छ, जसले पुँजीवादको समग्र सामाजिक–संरचनागत ढाँचा नै शोषणमा निर्भर रहनु पर्ने बनाइदिन्छ। फलस्वरूप, समाजमा बृहत्तर असमानता, अन्तर्विरोध र वर्गीय टकराब सिर्जना हुन्छ। समाजका करिब ९९ प्रतिशत मानिस शोषित हुन्छन्। उनीहरू कम आम्दानीसहित गरिबीको चक्रव्यूहमा फस्छन् र केही प्रतिशत मात्रै धनाढ्य हुन्छन् वा पुँजीपति हुन्छन्। तिनले नै राज्यको समग्र आयस्रोत तथा कार्य प्रणालीमा नियन्त्रण गर्दै आम श्रमिक वर्ग उपर निरन्तर शोषण गरिरहन्छन्। यो प्रणालीगत र संरचनागत ढाँचामा हुन्छ। यसैलाई पुँजीवादी उत्पादन प्रणालीको ढाँचा भनिन्छ।

दार्शनिक कार्ल मार्क्सले यही तथ्य एक सय पचहत्तर वर्षअघि इतिहास, अर्थशास्त्र र समाजशास्त्रको गहिरो अध्ययन/विश्लेषणमार्फत पत्ता लगाउँदै बताए, "मानवतामुखी समाजका लागि पुँजीवादको अन्त्य हुनु जरुरी छ।"

यसै क्रममा उनले मानव इतिहासको सर्वोत्कृष्ट पुस्तक पुँजी (दास क्यापिटल) लेखे। हुन त मार्क्सले दर्शनशास्त्र, इतिहास र अर्थशास्त्रका धेरै पुस्तक, पर्चा र नोटहरू लेखे, तर पनि ती सबैका अगाडि दास क्यापिटललाई उत्कृष्ट कृति मानिन्छ।

यथास्थितिवादी, आध्यात्मिक–आदर्शवादी दर्शनको बढी नै प्रभाव रहेको तत्कालीन युरोपमा मार्क्सका क्रान्तिकारी एवं भौतिकवादी किताबहरूले तहल्का मच्चाए। धेरै पढिने किताबमा जर्मन विचारधारा (१८४५), ग्रन्ड्ररीज अर्थात् कृटिक्स अफ पोलिटिकल इकोनोमी (१८५७), दर्शनको दरिद्रता (१८४८) र पुँजी १, २ र ३ (सन् १८६७–१८९४) पर्छन् भने अहिलेसम्म पनि पुँजी (दास क्यापिटल) संसारका सबैभन्दा बढी पढिने लोकप्रिय दश पुस्तकभित्र परिरहेकै छ। यही पुँजी लेखनले नै मार्क्सलाई इतिहासले अविस्मरणीय रूपले सदैव सम्झन्छ पनि।

बीबीसीले सन् २००५ मा चलाएको 'इन आवर टाइम' नामक चर्चित रेडियो कार्यक्रममा तीस हजार जना पश्चिमा बौद्धिक स्रोताहरूसँग गरेको सर्वेक्षणमा प्राप्त मतका आधारमा हालसम्मको मानव इतिहासको सबैभन्दा प्रभावशाली दश दार्शनिकको सुची बनाउँदा कार्ल मार्क्स प्रथम भएका थिए। बिबिसीले जारी गरेको प्रभावशाली चिन्तकको सुची यस्तो थियो: १. कार्ल मार्क्स  (२७.९३ प्रतिशत) २. डेभिड ह्युम (१२.६७ प्रतिशत) ३. विट्गेस्टाइन (६.५२ प्रतिशत) ४. फ्रेडरिक नित्से (६.४९ प्रतिशत) ५. प्लेटो (५.६५ प्रतिशत) ६. कान्ट (५.६१ प्रतिशत) ७. अक्विनस ( ४.८३ प्रतिशत) ८. सोक्रेटस (४.८७ प्रतिशत) ९. अरिस्टोटल (४.५२ प्रतिशत) १०. कार्ल पोपर (४.५२ प्रतिशत)। यसबाट पनि मार्क्सका दर्शन–विचारको प्रभाव बुझिन्छ।)

मार्क्सको 'पुँजी'मा के छ?  
पुँजीको पहिलो खण्ड सन् १८६७ मा आयो भने बाँकी दुई खण्ड (यद्यपि, मार्क्सले नै करिब अन्तिम मस्यौदा बनाइसकेपछि प्रिन्ट नभई रहेका थिए, प्रकाशन खर्च अभाव थियो) लाई फ्रेरडिक एङ्गेल्सले शुद्धीकरण र कतै थपथाप गरी पछि प्रकाशित गरिदिए। खास गरी यिनमा मानव जातिले सबै कालखण्डका ऐतिहासिक उत्पादन प्रक्रियामा के कसरी भाग लियो—प्राग-साम्यवाद, दासत्ववाद, सामन्तवाद र पुँजीवादी कालखण्डमा मानिस कसरी उत्पादन प्रक्रियामा सामेल भयो भन्ने कुराको गहिरो विश्लेषण छ। यी सबै कालखण्डमा श्रमको प्रयोग गरी वस्तु उत्पादन नगरी मान्छे बाँच्न (अस्तित्वमा रहन) सक्दैनथ्यो, यसैले उसले केही न केही उत्पादन गर्दै आर्थिक प्रणालीमा बाँधिनु पर्‍यो भन्ने विश्लेषण यसमा पाइन्छ।

मार्क्सले पुँजीको प्रथम खण्डलाई असाध्यै मसिनो रूपमा आर्थिक सिद्धान्तहरूकै आधारमा विश्लेषण गरेको देखिन्छ। पुँजीका यी तीनै खण्डलाई समग्र राजनीतिक–अर्थशास्त्रको विहङ्गम समालोचना (ए क्रिटिक्स अफ पोलिटिकल इकोनोमी) ग्रन्थसमेत भनिन्छ। पुँजीको पहिलो खण्ड ज्यादै महत्त्वपूर्ण छ। मार्क्सवादी आर्थिक अवधारणा र पुँजी उत्पत्तिको (प्रोसेस अफ द प्रोडक्सन अफ क्यापिटल) विश्लेषणमा आधारित छ यो। मार्क्सभन्दा अघिका अर्थशास्त्रीहरूले श्रमको उत्पादन र मूल्यसँग हुने सम्बन्धलाई निरपेक्ष र व्यक्तिगत साधनका रूपमा लिएका थिए भने मार्क्सले श्रम एउटा सामाजिक उत्पादन साधन हो र यसको प्रयोग भई उत्पादित हुने वस्तु (माल–कमोडिटी) को अन्तर्निहित मूल्य नै उक्त वस्तु उत्पादन र विनिमय गर्दा लागेको सामाजिक श्रमको मूल्य हो भन्ने अवधारणा प्रयोग गरेका छन्।

उत्पादित माल (अर्थात् पुँजी) सामाजिक धन हो, तर विडम्बना! यो पुँजीपतिहरूको मात्रै कब्जामा छ। यो व्यक्तिगत छ। यो नै इतिहासको सबैभन्दा ठुलो विडम्बना हो, स्वामित्वको अन्तर्विरोध हो। पुँजीको पहिलो खण्ड आठ भाग र तेत्तीस अध्यायमा विभाजित छ र यो आधारभूत अर्थशास्त्रीय ज्ञान विश्लेषणमा टेकिएर रहेको छ। पुँजीवादी उत्पादन ढाँचामा अतिरिक्त मूल्य सिर्जना, श्रम–ज्याला र मूल्य व्युत्पत्ति सिद्धान्त, नाफा सिर्जना, पुँजी निर्माण र प्राचीन धन संचितीकरण शीर्षकभित्र पुँजीवादी उत्पादन प्रक्रियाको बृहत्तर व्याख्या गरिएको छ।

पुँजीको दोस्रो खण्डमा पुँजीको प्रवाहीकरण प्रक्रिया (द प्रोसेस अफ सर्कुलेसन अफ क्यापिटल), पुँजीको रूपान्तरण र प्रतिफल, यसका नियमहरूसहित पुँजी प्रवाह (क्यापिटल टर्नओभर) तथा पुर्नरुत्पादनबारे लेखिएको छ। पुँजीवादी उत्पादन प्रणालीमा वस्तु उत्पादन हुँदा माल (कमोडिटी) र पैसा (मनी) को सम्बन्ध कस्तो रहन्छ, उक्त पैसा पुँजीमा रूपान्तरण कसरी हुन्छ अर्थात् मनी–माल–मनी (एम–सी–एम) को स्थिति कसरी सिर्जित हुन्छ भन्नेसमेत छ। तेस्रो खण्डमा समग्र पुँजीवादी उत्पादन प्रक्रिया तथा प्रणाली, अतिरिक्त मूल्य नाफामा रूपान्तरण, बुर्जुवाहरूको बीचमा नाफा वितरण, अनि नाफाको घटोत्तरी र पुँजीवादमा संकट कसरी उत्पन्न हुन जान्छ भन्नेबारेका विश्लेषण देखिन्छन्।

तीनै खण्डमा श्रम–माल उत्पादनको निश्चित नियमको प्रक्रियाबाट कसरी पुँजीवादी उत्पादन प्रणाली अघि बढ्ने रहेछ, यो अघि बढ्दै जाँदा कसरी र किन वस्तु उत्पादनको आयतन बढाउँदै श्रम शोषण (एक्स्प्लोइटेसन) विस्तारित हुँदै जान्छ, आफैले उत्पादन गरेको माल र नाफाबाट कामदार र सर्वहारा वर्ग कसरी बञ्चितीकरणमा पर्छन्, साधनको स्वामित्वबाट टाढिँदै जान्छन् र पुँजीपतिको नाफामा शुरूमा व्यापकता कसरी हुन्छ र पछि घटोत्तरी भई संकट पैदा कसरी हुन्छ भन्ने कुरा उल्लेख छ।

मानव जातिको दुर्भाग्य, उसले चाहेर वा नचाहेर पनि पुँजी निर्माण प्रक्रियामा उ सहभागी हुन्छ। यो एक आर्थिक चाल (ल अफ इकोनोमिक मोसन) को नियम हो र त्यही चाल क्रममा हिँड्दै जाँदा पुरानो प्रणालीमा संकट पैदा भई नयाँ उत्पादन प्रणाली अनिवार्य बन्छ भन्ने नै हो मार्क्सको निचोड। उनी सविस्तार लेख्छन् कि कसरी एउटै समाजमा श्रमिक वर्ग र पुँजीपति वर्गको उदय हुन्छ र यी दुवै वर्ग एकै समाजमा कसरी अस्तित्वमा रहन्छन्। किन पुँजीपतिले श्रमिकको उच्च शोषण गर्छ? अतिरिक्त ज्यालाबाट कसरी नाफा बढाउँछ, अनि कसरी पुजी निर्माण र धन संचीतिकरण हुन्छ? उनी चर्चा गर्छन्।

यस्तो प्रणाली किन इतिहासले विकसित गर्छ? ऐतिहासिक अनिवार्यताभित्रै पुँजीवादको उदय, विकास र अन्त्य कसरी हुन्छ? वर्ग संर्घष, क्रान्ति र आन्दोलनजस्ता परिघटना समाजमा किन अनिवार्य हुन्छन् भन्ने  कुरा मार्क्सले यी कृतिमा सविस्तार व्याख्या गरेका छन्। कारखाना-मजदुरको शोषणको व्यापकतामार्फत पुँजीपतिले नाफा बढाउँदै त लैजान्छन्, तर कालान्तरमा यो सामाजिक अन्तर्विरोध रूपमा प्रकट हुन्छ। जब पुँजीपतिको नाफाको दर घट्न थाल्छ, उसले मेसिनमा लगानी बढाउँछ, तापनि नाफा ओरालो लागेको हुन्छ र पुँजीवाद नाफा बढाउन यस बेला आक्रामक हुन्छ। तर पनि संकटमा घेरिन्छ र यही संकटको गर्भबाट मजदुर वर्गले क्रान्तिमार्फत उत्पादन साधनको स्वामित्व बदल्दै अर्को नयाँ आर्थिक प्रणाली निर्माण गर्छ। मार्क्सको ठहर हो यो।

पुँजीपति र मजदुर वर्गको बीचमा यस्तो टकराब अर्थात् वर्गसंघर्ष अनिवार्य किन हुन पुग्छ? यही वर्ग संर्घषले इतिहास कसरी गतिमान बनाउँछ, जसले अन्ततः इतिहास नै बदलिन जान्छ? सारमा भन्दा उत्पादक तत्त्वहरूको नयाँ सम्बन्धले नयाँ उत्पादन प्रणाली (ढाँचा र सारत्व पनि नयाँ) बन्न अनिवार्य रहन्छ भन्दै समाज परिवर्तनका तमाम विश्लेषणहरू यस कृतिमा देखिन्छन्। दर्शनशास्त्रका रूपमा मार्क्स आफैले तयार गरेका भौतिकवादी (मेटरलिस्ट) विश्व दृष्टिकोणका दुई वटा विधिगत औजार (ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद) लाई यहाँ प्रयोग गरेका छन्। खासमा उत्पादन साधनको स्वामित्व र सोको सम्बन्धकै आधारमा हालसम्म संसारले पार गरेका उत्पादन पद्धति (चरण) हरूको ऐतिहासिक विकास क्रमको पनि सविस्तार वर्णन गरेका छन्। अब पुँजीवाद पनि ऐतिहासिक संक्रमणको नियमले समाजवादमा जानुपर्छ भनिएको हो। पुँजीवादलाई समग्र आर्थिक प्रणालीगत ढाँचामा विश्लेषण गरिएको हो। पद्धतिगत रूपमा पुँजी निर्माण भई जब यसले गतिशीलता लिन्छ, तब यसको गति, प्रवेग, शक्ति, दूरी, प्रभावलगायत चरित्रहरूको व्याख्या यी ग्रन्थमा भएको छ।

मार्क्सले श्रम–उत्पादन सम्बन्धलाई ऐतिहासिक तथ्य, प्रमाण र अवलोकनबाट विश्लेषण गरी अनुभवजन्य (इम्पिरीकल) प्रारूपसहित नियमन (इन्डक्टीभ) विधिबाट प्राप्त निष्कर्षका आधारमा नै पुँजीजस्तो उत्कृष्ट कृति (म्यागनम ओपस) तयार गरेको देखिन्छ। यिनै विषयहरू पदार्थवादी चेतना र ऐतिहासिक घटनाक्रम एवम् संक्रमण तथ्यका आधारमा पेस गरेर पुँजीवादी उत्पादन प्रणालीको अन्त्यसँगै बुर्जुवा वर्गको अन्त्य हुने तितो सत्यको निष्कर्ष निकालेकाले नै पुँजी (दास क्यापिटल) देखि यस्ता धनाढ्य, बुजुवा वर्ग, शोषक वर्ग, नवउदारवादी र प्रतिगामी वर्गलाई यसले अझैसम्म पनि सताउने गरेको हो।

यसै कारण उनीहरूमध्ये धेरैजसो व्यक्ति पुँजी पुस्तक अध्ययन गर्न डराउँछन् र अज्ञानतावश यसको आलोचनासमेत गर्छन्। तर ज्यालादारी–श्रमिक वर्गले भने पुँजीलाई प्रिय ग्रन्थका रूपमा पढ्दै इतिहासको सत्यता खोतल्न, नयाँ ज्ञान निर्माण गर्न यसमा निरन्तर अन्तर्क्रिया पनि अहिले सम्म गरिरहेका छन्। वास्तवमा समग्र अर्थ राजनीतिक विषयमा ज्ञान बिस्तार गर्न पुँजी पुस्तक उदारवादी, सुधारवादी, प्रगतिवादी, कल्याणकारी, प्रगतिशील, क्रान्तिकारीलगायत सबैले पढ्न मिल्छ र छलफल पनि गर्न मिल्छ। यो समस्त मानव जातिका लागि समर्पित वैचारिक पुस्तक हो।

दास क्यापिटलको आलोचनात्मक शिक्षाशास्त्र (क्रिटिकल पेडागोजी अफ दास क्यापिटल)
करिब एक सय पचास वर्षअघि यो किताब निक्लँदा युरोप र अमेरिकामा मात्रै औद्योगिक क्रान्ति सम्पन्न भएका थिए। उ बेला जनसख्या बढ्दै थियो, अर्धचालित एवं स्वचालित मेसिनहरूको आविष्कार हुँदै थियो। रेल सञ्जाल बिस्तार हुँदै थियो र विज्ञान फैलिँदै थियो। पुराना ज्ञानहरूमा धमिरा लाग्दै थियो, नयाँ नयाँ ज्ञान विज्ञानमा आधारित खोजहरू र भौतिकवादी धारणाहरू बढ्दै थिए। कृषि क्रान्तिका कारण अधिक कच्चा पदार्थ उत्पादन हुँदा औद्योगिक प्रतिष्ठानहरू बढ्दै थिए। त्यसै कारण मालिक वर्गले धन सञ्चय बढाउँदै थियो, तर आम जनता भने सर्वहाराकरणको प्रक्रियामा जाँदै थिए। मजदुरहरू रातदिन काम गर्न र सस्तो श्रम बेच्न बाध्य थिए, तथापि कारखाना मालिकहरूले निकै कम ज्याला दिन्थे।

पुँजीपतिहरू अथाह नाफा गर्थे, तर तीनलाई श्रमिक वर्गको दयनीय स्थितिबारे केही मतलब थिएन। संसारको एकातिर औद्योगिक प्रगति, नयाँ नयाँ मेसिनको प्रयोग, उत्पादन र नाफाको सञ्चिति बढ्दै थियो भने त्यही संसारको अर्कातिर रोग, व्याधि, भोकमरी, दरिद्रता र घनघोर दुःख थुप्रिँदै थियो। सर्वहारा वर्गको यही दर्द, दुःख, वेदना र पीडाहरू मार्क्सले लन्डनमा बस्दा नजिकैबाट देखे। धन वितरणको यस्तो असमानता नै पुँजीवादी व्यवस्थाको मूल चरित्र थियो, जसको अन्त्य आवश्यक थियो र छ। मार्क्सका लागि यही नै थियो, पुँजी लेखनको प्रेरणा र सामाजिक दुर्दान्तको दृश्य। यसैले गर्दा मार्क्सले संसार बदल्ने चेतना र ज्ञानका लागि द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गरे भने इतिहासको समग्र  व्याख्या गर्दै उत्पादन प्रणाली बदल्न ऐतिहासिक भौतिकवादको सिद्धान्तको मिहिन विश्लेषण गरी 'पुँजी' लेखे। 

समग्र पुँजी लेखन यी दुई वटा दार्शनिक ज्ञान–मीमांसाले नै निर्देशित छ। उन्निसौँ शदीका बेला लेखन भएको भए पनि त्यो समययता आजसम्म पुँजीको अध्ययन/अध्यापनको सान्दर्भिकता घटेको देखिन्न। विभिन्न विश्वविद्यालय र शिक्षण संस्थाले 'पुँजी' पढाएकै छन्। किनभने अहिले पनि श्रमिक र कामदार वर्गलाई शोषण गरिरहने उत्पादन प्रणाली विद्यमान छ। तापनि कतिपय विद्धानले यस बेलाको उत्तर–आधुनिक कालमा आउँदा यसका कतिपय प्रसंग र ब्या खा पुर्ननवीकृत गर्न जरुरी छ भन्ने गरेको पाइन्छ। अर्थात् अब एक्काइसौँ शदीको समकालीन मार्क्सवादको ब्या खा चाहिएको भनिएको पनि छ।

त्यसका प्रशस्त कारण छन्। यति बेला पुँजीवादी उत्पादन प्रणाली सघन पुँजी घनत्व (हाइअर डिग्री क्यापिटल इन्टेन्सीभ) संयन्त्रमा रहेको छ। नयाँ प्रविधि, डिजिटल डाटासेन्टर अर्थात् एआई–सफ्टवेयर (डिजिटल पुँजी) जस्ता उत्पादनका साधनहरू आएका छन्। प्रविधिका कारण उत्पादन लागत किफायती बन्दा वस्तु अधिक र नाफा पनि अधिक भइरहेको देखिन्छ। पुँजीवाद नव औपनिवेशिक र नवउदारवादको चोलाभित्र फस्टाएको छ। पुँजीवादले अझै पनि प्रजातन्त्र र लोकतन्त्रको खोल ओडेको छ। अर्थतन्त्रमा वास्तविक क्षेत्रभन्दा मौद्रिक क्षेत्र हाबी छ। बैंक र पुँजी बजार (स्टक मार्केट) तिर नाफा सर्दै जाँदा अधिक तरल पुँजी निर्माण भइरहेको छ। पुँजीको प्रति इकाई खरिद लागत धेरै बढेको छ। विकासशील र गरिब देशहरूले आफै पुँजी निर्माण गर्न र खरिद समेत गर्न नसकेका कारण युरोप र अमेरिकाभन्दा बाहिर औद्योगीकरण स्थानान्तरित भएको छ। भारत, चीन, ब्राजिलतर्फ औद्योगीकरण स्थानान्तरण भएको हामी देख्छौं। यसले गर्दा पुँजीको भू–राजनीतिक र सांस्कृतिक स्वरूपमा समेत परिवर्तन भएको छ। यी यावत कारणले गर्दा मार्क्सको समयको प्रारम्भिक पुँजीवादको चरित्र परिपक्व पुँजीवादतिर सर्दै आएको देखिन्छ।

मार्क्सको पुँजीमा रहेका कतिपय तथ्य, पूर्वानुमान, प्राक्कथन, आधार, आर्थिक चरण र सन्दर्भहरू समयसापेक्ष विस्तारित हुनु आवश्यक रहेको भन्ने मत बढेकोले पुँजी अध्ययन/अध्यापन/विश्लेषणको लागि 'क्रिटिकल पेडागोजी'को जरुरत देखिएकाले नै यो आलेख लेखिएको हो। खास गरी छोटो रूपमा मार्क्सवादको पुर्नप्रारूपीकरण (रिमोडलिङ) को तार्किक ब्या खा गर्न सकिएला कि भन्नेमा तर्क अघि सारेको मात्र हो। किनकि, मार्क्सले सदैव भन्थे–विज्ञान र द्वन्द्ववादका आधारमा मेरा निष्कर्ष तथा विचारहरूउपर मज्जाले बहस गर्न सकिनेछ। विभिन्न समय काल र भाषामा पुँजीको प्रकाशन/पुनः प्रकाशन गर्दा उनी आफैले यसरी नै कतिपय शब्द, चर, सन्दर्भहरू र विश्लेषण विधिहरूको पनि थप ब्या खा गर्दै समयानूकल संशोधित गरेको पाइन्छ पनि।  

मार्क्स सदैव वस्तुगत आलोचना र समालोचनाका लागि तयार थिए, किनकि हेगेल र फायरबाखको दर्शनहरूलाई यसरी निर्मम आलोचना गरेर नै उनले द्वन्द्वात्मक भौतिकवादजस्तो चैतन्य दर्शन मानव समाजका लागि प्रस्तुत गरेका थिए। हेगेलको द्वन्द्वात्मक आदर्शवाद (डाइलेक्टीक आइडलिज्म) र फायरबाखको आदर्शवादी भौतिकवाद (आइडलिस्ट मेटरेलिज्म) माथि गहन संश्लेषण गरी, कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवाद (डायलेक्टिकल मेटरलिज्म) जस्तो उत्कृष्ट वैज्ञानिक दर्शनको आविष्कार गरे, जुन एक गहन तत्त्व ज्ञान हो।

टाउकोले उल्टो टेकेको हेगेलको दर्शनलाई उनले सुल्टो पारेर खुट्टाले टेकाए। अब यस पुस्ताले यसलाई दौडिन र बेस्सरी कुद्न सक्ने बनाउनुपर्छ। विज्ञान आधारित, मानव कल्याणको दर्शनको रूपमा जन्मेको मार्क्सवादले इतिहासको गतिसँगै दौडन समकालीन ऊर्जा, सामर्थ्य र नैतिकता खोज्छ, जसका लागि यसको निरन्तर हेरचाह, परीक्षण र जाँच आवश्यक छ। यो काम उच्च चेतना भएका कामदार वर्ग र परिश्रमी आम मानिसहरूले नै गर्नुपर्छ।

समकालीन मार्क्सवाद कस्तो हुनुपर्छ?
सोभियत संघको विघटनपछि नव–उदारवादीले अव समाजवाद र यसको वैचारिकी मार्गदर्शन (मार्क्सवाद) को पनि समय सकियो भन्ने हल्ला फैलाए। तर इतिहास पुनरावृत्ति पनि हुन्छ। मार्क्सकै पालामा तीन महिने पेरिस कम्युन ढलेपछि पनि यस्तो कुरा आएको थियो, तर मानिसको समय चेतना र मजदुर वर्गको श्रमले इतिहास निर्माण, पुनर्निर्माण एवं नवीकृत भइरह्यो। रुस, चीन, क्युबा, भियतनाम, पूर्वी युरोपलगायत देशमा चेतनाको पुनरावलोकन हुँदै गयो।

मार्क्सवादलाई नयाँ विचार दिनेमा भ्लादिमिर लेनिन, रोजा लक्जम्बर्ग, एन्टोनियो ग्राम्ची, माओत्सेतुङ, होचि मिन्ह र फिडेल कास्त्रोहरू थिए। अहिले ल्याटिन अमेरिकाभर मार्क्सवादको जब्बर पुर्नउदय हुँदै छ र नजिकै श्रीलकांमा पनि यस्तो देखिँदै छ। नेपाल र भारतमा पनि मार्क्सवाद लोकप्रिय छ। राज्य केन्द्रित समाजवादका कारण सोभियत मोडलमा पुँजीको केन्द्रीकरण भएको हो। तर मार्क्सको विचार पुँजी केन्द्रीकरणको पक्षमा थिएन, किनकि यसले एकाधिकार र सर्वसत्तावादीलाई पोस्छ। मार्क्स आफैले पुँजी (दास क्यापिटल) उपर कैयौँ संस्करणमा यस्तो भाषा परिमार्जन गरेको पाइन्छ।

पुँजी सञ्चय (क्यापिटल एकुमलेसन) र पुँजी केन्द्रीकरण (क्यापिटल कन्सन्ट्रेसन) फरक हो। खास गरी सोभियत र युरोपियन मार्क्सवाद (जसलाई पश्चिमा मार्क्सवाद पनि भन्ने गरिन्छ) ले 'ग्लोबल साउथ' (प्राय: सबै अफ्रिकी देश, अस्ट्रेलिया र न्युजिल्यान्डबाहेकका टापु राष्ट्र, मध्यपूर्वका इरान, सिरिया र लेबनानजस्ता देश। जापान, दक्षिण कोरिया, सिंगापुर, र ताइवानबाहेकका प्राय: एसियाली मुलुक, ल्याटिन अमेरिका र क्यारेबियन मुलुक) जस्ता आर्थिक पछौटेपन भएका देशको समस्या बुझेको पनि थिएन। यसैले यतातिर उत्पादनलाई प्रभाव पार्ने सांस्कृतिक तत्वसहितको 'पूर्वीय मार्क्सवाद'को ब्या खा र नयाँ प्रारूप बन्दै थियो। यतिखेर फक्रिरहेको चिनियाँ मार्क्सवादको प्रयोगलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ। कैयौँ दार्शनिकहरूले नवमार्क्सवाद (नियोमार्क्सिजम्), उत्तरमार्क्सवाद (पोस्ट मार्क्सिजम्), हरित मार्क्सवाद (ग्रीन मार्क्सिजम्), संरचनात्मक मार्क्सवाद (स्ट्रकचरल मार्क्सिजम्), आधुनिक मार्क्सवाद (मोर्डन मार्क्सिजम्) जस्ता प्रस्तावना (हाइपोथेसिस) ल्याएका पनि हुन्।

यी सबै हाइपोथेसिसको मत पहिलेको मार्क्सवादमा समसामयिक परिमार्जन र बिस्तार नै हो, जसमध्ये हर्बट मार्कुस, जोडी डिअन, पिटर हडिस, एलन उड र मिचेल अल्बर्टका लेखहरू प्रभावकारी लाग्छन्। चिनियाँ विशेषतासहितको समाजवादको विकास गर्ने सन्दर्भमा प्रा. चेन फू (चाइनाज् इकोनोमिक्स डाइलेक्टिक्स–२०१९ का लेखक) ले एक्काइसौँ शदीको मार्क्सवाद र यसको विकास प्रक्रियालाई छ वटा विश्लेषण स्तरमा हेर्न र तत् तत् रूपले परिभाषित गर्न पनि सुझाव दिएका छन्। उनका अनुसार, १. मार्क्सवादको उत्पत्तिको आधारमा प्राज्ञिक विश्लेषण गर्ने २. मार्क्सवादको उत्पत्तिको आधारमा राजनीतिक विश्लेषण गर्ने, ३. मार्क्सवादलाई समाजवाद र साम्यवादमा संक्रमण गर्ने निर्देशक सिद्धान्तमा अलगअलग व्याख्या  गर्ने, ४. मार्क्सवादलाई आम जनताको भलाइका सन्दर्भमा सरकार र राज्यसँग परिभाषित गर्ने, ५. मार्क्सवादलाई दार्शनिक सत्य र सामाजिक नैतिक मूल्यका आधारमा व्याख्या गर्ने,  ६. मार्क्सवादलाई अन्तर्राष्ट्रिय सम्बन्ध (मानवता र अन्तर्राष्ट्रियतावादी ढाँचा) मा व्याख्या गर्ने। यसरी बल्ल मार्क्सवादको सिद्धान्त र व्यवहारलाई ऐतिहासिक तवरले तल्लोबाट उच्च स्वरूपमा हुने उत्पादन विकासको  व्याख्यासँगै लैजान मद्दत गर्छ।

यही परिप्रेक्ष्यमा यति बेला तेस्रो इन्टरनेसनलपछि वैश्विक स्तरमा द्वन्द्वात्मक/ऐतिहासिक भौतिकवादको मन्थन गर्ने संयन्त्र नभएकाले त्यस्तो संयन्त्र बनाइरहेका विख्यात अर्थशास्त्री एवं समाजशास्त्रीहरूको प्रभावशाली समूहले एउटा नयाँ बहस चलाएका छन्। समकालीन मार्क्सवादी दर्शनमाथि विमर्श गर्न लन्डनस्थित हिस्टोरिकल मेटरलिज्म जर्नल ग्रुप यति बेला अगाडि आएको छ, जसका अध्यक्ष मण्डलमा प्रा. जे मारिया एनटेन्टस र स्भेन्जा ब्रोनवर्गलगायत छन्।

यो समूहले प्रा. कार्ल पोपर, वाल्टर बेन्जामिन, जिर्ओजी लुकास रहेको फ्रेङक्फर्ट स्कूलको क्रिटिकल थ्योरी समेतको समीक्षा गर्दै मार्क्सवादलाई छद्म (सुडो), जडसूत्रीय ( डग्माटिक)  र अपव्याख्या (फेलासी) बाट बचाउँदै वास्तविक विज्ञानसम्मत बनाउन थप परीक्षण गर्दैछन्। यो समूहले यस वर्ष मार्क्सवादभित्र अन्तर्निहित विभिन्न बाह्र वटा सत्यता (एक्जिम) हरूमा समकालीन बहस चलाउँदै छ। खासगरी नवउदारवाद र वित्तीय पुँजीवादले थोपरेको युद्ध उन्माद, एआई तथा सम्भावित भयानक बेरोजगारी (मास अनइम्प्लेयमन्ट), ग्लोबलाईजेसनको नव औपनिवेशिक आवरण, जलवायु र पर्यावरणीय संकट (क्लाईमेट एन्ड  इकोलोजिकल ओभरसुट क्राइसिस), अमेरिका र युरोपमा पन्पीन थालेको सर्वसत्तावाद, सैन्यवाद, आणविक प्रभुत्ववाद, नवफासिवाद–दक्षिणपन्थ र नरसंहार (जेनोसाइड) जस्ता विषयहरू (जो मार्क्सले त्यो बेला देख्न पाएनन्) उपर प्रश्नावली बनाउँदै बहस चलाउने र मार्क्सवादका लागि युगसापेक्ष विचार पृष्ठपोषण गर्ने भनेको छ।

यी मुद्दा र विषयले मूलतः यी 'एक्जिम'हरूभित्र मार्क्सवादको विस्तार तथा पुर्नःप्रारूपीकरण गर्न सघाउ पुर्‍याउने छन्:

क. मार्क्सवादी दर्शन र सिद्धान्तलाई कसरी परिस्करण गर्ने?
यसमा शास्त्रीय मार्क्सवाद दुई ज्ञानघटक (पदार्थवादी ज्ञान चेतना/द्वन्द्ववाद) एवं राजनीतिक अर्थशास्त्र (ऐतिहासिक भौतिकवाद) को मिहिन समीक्षा गरिने भनिएको छ। क्वान्टम विज्ञान, पदार्थ–ऊर्जा सिद्धान्त, म्युटाजेनिक जैविक विकास तथा जीन–डिएनए इन्जिनियरिङ, एआई सफ्टवेयर, इनर्जी–इन्फरमेसन र इन्ट्रोपी सिद्धान्त, हेन्सवर्गको कणीक सम्भावना र अनिश्चयको सिद्धान्त र थर्मोडाइनामिक्स सिद्धान्तलगायत यति बेलाका वास्तविक भौतिकीहरूको नतिजा र थुप्रै वैज्ञानिक विधाको मार्क्सवादसंगत तादम्यता परीक्षण र जाँच गर्ने सोच बनाएको छ।

खासगरी पदार्थवादी दर्शनको मुख्य ज्ञान औजार रहेको द्वन्द्वात्मक नियमहरू अहिलेका क्वान्टम भौतिकी परिघटनासँग तादात्म्य हुने/नहुने वा कतिसम्म यो मेलखान्छ भन्ने समेतको जाँच गर्ने भनिएको छ। यति बेला पदार्थ (म्याटर) को चलायमानता र अन्तरबिरोधलाई पार्टिकल–वेभ डुआलिटी सिद्धान्तद्वारा पनि व्याख्या गरिन्छ। आइन्स्टाइनको पिण्ड–ऊर्जा सिद्धान्तबाट पनि भौतिकीले गहिरोभन्दा गहिरो क्षेत्रमा फड्को मारेको छ। एटम–इलेक्ट्रोन–प्रोटोन–क्वार्कको सबपार्टिकल तहमा हुने क्रियाकलाप र परिवर्तन जान्ने ज्ञान गहिरिएको छ।

सोहीअनुसार पदार्थभित्रको अन्तर्विरोधको विकासको, सोको ध्रुवीकरण प्रक्रिया र पदार्थ रूपान्तरणको अवस्थामा इनर्जी लेभल (इलेक्टोमेग्नेटिज्म) निर्णायक भएको छ। मार्क्सका पालामा भौतिक विज्ञान, जैविक विज्ञान र रासायनिक विज्ञानको खोज भर्खरै भर्खरै हुँदै थियो र थोरै थियो। त्यति बेला न्युटनको गुरुत्वबल (ग्रेभिटि फोर्स) को शास्त्रीय व्याख्या थियो। तर अल्बर्ट आइन्स्टाइनपछि भौतिक ज्ञानको 'प्याराडाइम सिफ्ट' भएकोले यति बेला यिनको दायरा बढेको छ र यतिखेरको विज्ञानले नै क्वान्टम तहमा हुने अन्तर्विरोध, उत्पन्न फोर्स–कार्य कारण र परिवर्तनको प्रक्रिया बुझ्न सक्छ।

यसैले समाज विकास, इतिहास, श्रम–पुँजी बिस्तार/प्रविधि रूपान्तरण पनि यसरी उत्तिकै सूक्ष्म र गहिरो तहमा हेर्न सकिन्छ। तसर्थ, क्वान्टम विज्ञानलाई मार्क्सवादी दर्शनमा जोड्न जरुरी पनि छ र हिजोको ठुला तत्त्व (इलेमेन्टल डाइलेक्टीकल मेटरालिजम) मा हुने अन्तर्विरोध र परिवर्तन अब  अति सूक्ष्म कणादि अन्तर्विरोध (एटोमिक र क्वान्टम डाइलेक्टीक) को तहबाट हेर्न जरुरी छ। अर्थात् मार्क्सका पालामा डायलेक्टीक प्रक्रियाबाट विचार निर्माण हुँदा तीन वटा चरणमा सम्पन्न हुन्थ्यो, जसलाई लिनर मोडेल अफ डायलेक्टिक्स भन्न सकिन्छ। यसमा क. कुनै वस्तु–विचार बन्नु/रहनु/अस्तित्वमा आउनु (स्टेट अफ बिइङ) ख. यसको अस्तित्व नरहनु (स्टेट अफ नट बिइङ) ग. दुवैको स्थिति एकैसाथ प्रकटित हुनु (स्टेट अफ बिकमिङ) को स्थितिबाट मीमांसा रहन्थ्यो। यसमा बिइङ र नन बिइङको अन्तर्विरोध भइरहन्छ र सँगै विद्यमानता पनि रहिरहन्छ। खासमा हेगेलले विचारको उत्पत्ति यसरी हुन्छ भनेर देखाएकै तर्कलाई मार्क्सले पनि मानेका छन्। फरक त्यति हो, मार्क्सले पदार्थवादी प्रारूपमा डायलेक्टीक्स विकास गरे भने हेगेलले आदर्शवादी ढाँचामा।

अबको विज्ञानले हेर्दा यदि 'क्वान्टम डायलेक्टीक्स'बाट अन्तर्विरोध प्रकट भएमा यसको 'मेटालिनरीटी' प्रारूप देखिन्छ, जो 'वेभ–पार्टिकल डुआलिटी'जस्ता धेरै सम्भाव्य स्थितिमा रहन्छन् र यसरी विचारको निर्माण 'बिगब्याङ' प्रारूपमा प्रकटित र विकसित हुँदै जाँदा बहुध्रुवीय विचारहरू 'मेटालेक्टीकल' अस्तित्व प्रकट हुन्छन् भनिन्छ। पुँजीको निर्माण, यसको सञ्चय तथा प्रसारण र परिवर्तन पनि यसरी नै हेर्नुपर्ने भएको छ। खासगरी मार्क्सले समाज विकासको रेखीय पथमार्गका सन्दर्भहरूमा उ बेला लिएको, डार्बिनीज्म (ओरिजन अफ स्पेसिज) मा प्रयोग गरिएका 'नेचुरल सेलेक्सन' प्रक्रिया अब 'मोलिकुलर बायोलोजी'का व्याख्यामा आएकाले पनि यतिखेर यो ज्ञान थप परिस्करण र बिस्तार भएको छ। यस्ता खाले सबै अद्यावधिक ज्ञानसँग अब मार्क्सवादलाई जोड्नुपर्ने देखिन्छ। यसै गरी, मार्क्सवादलाई पोलिटिकल–इकोनोमीको बहसमा निर्धारणवादी (डिटरमिनिस्ट), एकत्ववादी (मोनिस्ट) र अधिनायकी भन्नेजस्ता आरोप बुर्जुआहरूले लगाइरहन्छन्। यो होइन, तर यसलाई हमेसा प्रोपोगान्डा बनाइएको हो, यसलाई ज्ञानले नै जवाफ दिनुपर्छ।

ख) उत्तर आधुनिक समाजमा वर्ग कस्ता हुने र वर्ग संघर्षका स्वरूप कसरी पहिचान गर्ने? 
यति बेला कारखानामा नगए पनि कामदार वर्गले मध्यम आय कमाएको छ। जो प्रविधि र दिमाग बेचेर (ल्यापटप बोक्ने कामदार वर्ग भनौँ) जीवन उपार्जन गरिरहेको छ। भौतिक श्रम गर्ने सर्वहारा वर्गको छेउमा प्रविधि श्रम गर्ने यो मध्यम वर्ग आएको छ। अर्थात् सर्वाहाराकरण (प्रोलेटेरिएन) को प्रक्रिया सुस्ताएको र सबाल्ट्रन/मध्यमीकरण/निम्न पुँजीपतिकरण (प्लेवियनाइजेसन) हुने प्रक्रिया बढ्दै गएकाले ग्राम्चीले भनेजस्तो 'टेक्नीकल डिभिजन अफ लेबर' भएको छ र यो 'फोर्डिज्म' उत्पादनसँग जोडिएको पनि छ। यस सम्बन्धले मजदुर वर्गकै बीचमा अन्तर्विरोध सिर्जना गरेको छ, जसले गर्दा पुँजीपति वर्गले सांस्कृतिक हेजेमोनी विचार उत्पन्न गर्न सफल भएको छ।

खासमा अहिले यस्ता खाले उत्पादन प्रणालीको रूपहरू फरक देखिन आए पनि सारमा त संसारभर पुँजीवाद नै छ। यो परिपक्व शोषणकर्ताका रूपमा हुर्केकाले अब यो पाक्ने र झर्ने समय आएको बुझ्नु पर्छ। यस्तो प्रवृत्तिगत चरित्रबारे दुवै कामदार वर्गलाई बुझाउनु पर्नेछ। यति बेला वित्तीय भू–मण्डलीकरणबाट ग्लोबल साउथलाई 'पेरिफेरल डेब्ट'मा निर्भर बनाइएको छ र विश्व बैंक/आइएमएफजस्ता मौद्रिक धन थुपार्ने संस्थासहित डलर विनिमयमार्फत बृहत्तर वित्तीय शोषण संस्थागत गरेको छ। स्मरणीय छ, यी संस्थाले  पुँजी निर्माण र बिस्तार गर्दैनन्, तर पुँजीको विनिमय मूल्य बढाइदिन्छन्।  

यसैले, यानिस भारुफकिसले भनेझैँ पुँजीवाद अहिले साम्राज्यवादी र औपनिवेशिक (इम्पेरियल एन्ड कोलोनिअल) चरित्रभन्दा भन्दा उन्नत 'टेक्नो–फ्युडलिस्ट क्यापिटलिज्म' भएको छ, जसले प्रविधिमाथि पेटेन्ट राइट आफूमा राखेर निरन्तर प्रविधि लगान/कूत (टेक्नोलोजी रेन्ट) लिँदै 'पेरिफेरल ग्लोबल साउथ'को रगत चुसिरहेको छ। जसरी मार्क्सले भनेका थिए कि मृत पुँजीले जीवित श्रमिकको रगत चुसिरहन्छ, टेक्नो–फ्युडलिस्ट पनि यति बेला हजारौँ पेटेन्ट राइट र वित्तीय कूत संकलकका रूपमा ग्लोबल साउथको रगत चुस्दै छ। एउटा उदाहरण हेरौँ, बहुराष्ट्रिय कम्पनी कोकाकोलाले दैनिक लाखौँ डलर पेटेन्टबाटै कमाउँछ, ब्रान्ड–प्रविधिको आफ्नो 'राइट' भन्दै। खासमा कोका भन्ने रुखको कच्चा पदार्थ आदिवासी खानेकुराका रूपमा दक्षिण अमेरिकी आदिवासी ज्ञानको उपज हो र यो पेटेन्ट त्यहाँका देश र नागरिकले पाउनुपर्ने हो, तर विडम्बना यसको नियन्त्रण र रेन्ट कोकाकोलाले लिएको छ। यो भयानक शोषण र बायोपारइरेसी हो। 

यसै कारणले पेरिफेरल इकोनोमीमा 'क्याचिङ अप इफेक्ट' सिर्जना हुन अवरोध भएको छ र त्यहाँ हमेसा उच्च मुद्रास्फीति रहने र आर्थिक वृद्धि अवरुद्ध भइजाने 'इकोनोमिक स्टाग्नेसन' फैलिएको छ, जहाँ मानिसहरू सदैव गरिबीकै रेखामुनि रहन बाध्य छन् र यहाँ गरिबिको पुस्तान्तरण हुने गरेको छ। यति बेला सामाजिक सञ्जाल, डिजिटल अर्थ व्यवस्था र डाटा उत्पादन पुँजीगत औजार भएका छन्। सफ्टवेयर झनै ठुलो पुँजी बनेको छ। यस्तो अवस्थामा 'सोसल रिलेसन एन्ड क्लास स्ट्रगल' (वर्ग–संघर्ष) को स्वरूप कस्तो होला? वर्ग चेतना कस्तो होला? अलि विकसित युरोप र पश्चिममा वैकल्पिक संसदीय संघर्षलाई वर्ग संर्घषसंग जोडेर कसरी लैजाने होला भन्नेमा धेरै बहस आएको छ। 

उत्तर आधुनिक इतिहासको विकास, उत्पादन शक्तिहरूको सम्बन्ध, अतिरिक्त मूल्य, पुँजी निर्माण र पुर्नउत्पादनको ढाँचा तथा नयाँ प्रविधिका कारण कामदार वर्गको आफ्नै उत्पादनसँग हुने छिटो बिच्छेदीकरण (फास्ट एलिनेसन) को प्रक्रिया नवीन रूपले कसरी व्याख्या गर्नेमा पनि गज्जबको बहस खोजिएको छ।

ग) सहायक दर्शनबिधाका रूपमा नयाँ उदाएको “पोलिटीकल इकोलोजी“को सम्बन्ध मार्क्सवादसँग जोडने कसरी होला?
यति बेला पर्यावरण विनाश र जलवायु परिवर्तनका समस्या व्यापक बढेर गएका छन्। 'फोसिल फ्युल' र प्रकृति दोहन तीव्र भएको छ। थोरियम, युरेनियम, लिथियमजस्ता महँगा र दुर्लभ ऊर्जाजन्य खनिज पदार्थमाथि धनाढ्य कर्पोरेट वर्गले आँखा लगाएको छ। अझ भनौँ–जल, थल, वायु, सौर्य, ग्रह तथा समग्र अन्तरिक्ष प्रणाली पनि साझा (कमन) प्राकृतिक पुँजी हो। तर यो समेत कर्पोरेट (निजी) दोहनमा परेको छ। यो दोहनबाट भएको अतिरिक्त आय पुँजीमा रूपान्तरण भएको छ र फेरि धनाढ्यहरूको सम्पत्तिमा रूपान्तरण भई सञ्चित भइरहेको छ। थोमस पिकेटीले भनेझैँ वैश्विक आर्थिक वृद्धिभन्दा बढी दर रेटमा धनाढ्यहरूको सम्पत्तिमा भएको वृद्धिले शोषण र असमानताको स्तर विशाल पैमानामा रहेको देखाउँछ।

यो कसरी विस्तारित भएको छ त? मौद्रिक सम्पत्तिको वृद्धिले नाफाखोरी बढाएको देखिन्छ, यसमा बैंकर एवं कर्पोरेट क्यापिटलजिम् (गेरेस बर्केलीका अनुसार भल्चर क्यापिटलजिम्) कति जिम्मेवार छ? मार्क्सको पालामा कृषि उद्यमजन्य पुँजीवाद (एग्रारियन क्यापिटलजिम्) थियो र उनले मेटाबोलिक रिफ्टमार्फत प्रकृतिउपर शोषण हुने देखेका थिए। यो विषय उ बेला महत्त्वपूर्ण भए पनि सानो स्तरमा उठेको थियो, तर अहिले 'प्लानेटोरी सिस्टम'सहित विशाल प्रकृति शोषण र साझा स्रोतहरूउपर अति दोहन (ओभरसूट) को बृहत् समस्या देखिएकाले समकालीन दर्शन विमर्शमा यो प्राथमिकताभित्र परेको छ। यसैले अब प्रकृति–समाजको द्वन्दात्मकता (नेचर–सोसाइटी डाइलेक्टीक्स) को बहस पनि उदाएको छ। खासगरी कोहियो साइतो र जोन बेलामी फोस्टरजस्ता बौद्धिक मार्क्सवादीले यस्तो प्रारूपमा जोड गरेको पाइन्छ, जसले 'डिग्रोथ कम्यूनिज्म' (अर्थतन्त्र र उत्पादन–उपभोगलाई निरन्तर वृद्धिका सट्टा कम गर्नेतर्फ जानुपर्ने धारणा) को अवधारणा बनाएको देखिन्छ। प्रा. जेम्स कोनर र मार्टिन स्पेन्सले इकोलोजिक मार्क्सिजम् (इको–सोसालिज्म) को प्रारूप बनाएका पनि छन्।

यसरी नै अन्य मार्क्सवादी समूह, साहित्य समूह, वैज्ञानिक समूह र कल्याणकारी अर्थशास्त्रीहरूले समय समयमा उठाएका प्रश्नहरू पनि यिनै एक्जिम विमर्शमा समेटिने छ। जेहोस्, समकालीन मार्क्सवादी ज्ञानको फैलावट बढाउने गरी भएका यस्ता बहसलाई उत्प्रेरित गर्न आवश्यक पनि छ। 

नेपालमा त पचासौँ गुट-उपगुट रहेका धेरै प्राज्ञिक र राजनीतिक दलहरूले मार्क्सवादलाई निर्देशित सिद्धान्त बनाएका पनि छन्। कतिपय वामपन्थी दलले सरकार चलाएका पनि छन्, तर पनि भौतिकवादी दर्शन, द्वन्दवाद र मार्क्सवादको सिर्जनात्मक विकासका लागि न त अनुसन्धान गर्छ न मार्क्सवादी एकेडेमी नै बनाउँछन्। चाहे त नेपालमा मार्क्सवादी विश्वविद्यालय बन्न सक्छ र संसारलाई उच्चस्तरीय बौद्धिक मन्थनमा ल्याउन पनि सकिन्छ, तर हास्यास्पद के छ भने यहाँको नेतृत्व वर्गमा नक्कली मार्क्सवादीको बिगबिगी छ। सम्भवतः अन्य देश र समाजमा पनि यस्तो पक्कै छ।

उनीहरू आलोचनात्मक चेत हराएको प्रतिगामी चिन्तनभित्र रमाएका छन् र त भजनमण्डली र आसेपासेका लागि जे पनि गर्छन्, तर आम जनताको प्रगतिशील चेतना सबलीकरण तथा  मार्क्सवादी ज्ञान निर्माण–पुनर्निर्माणका लागि न शिक्षा प्रणाली राम्रो बनाउँछन्, न त प्राज्ञिक बहस–मन्थन नै गर्छन्। यति बेला नेपाली कम्युनिस्ट नेताहरू इतिहाससँग भद्दा मजाक गर्दैछन्। यिनलाई क्लेप्टो–कम्युनिस्ट (यिनीहरू कम्युनिस्ट वा समाजवादी विचारधाराको नारा लगाउँछन्, तर व्यवहारमा सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचार गर्छन्, सार्वजनिक सम्पत्ति हडप्छन्) भन्दा पनि हुन्छ। यिनीहरू ओलीर्गाक (पैसा, सैन्य, राजनीतिक प्रभाव, वंशाणुगत अधिकार, वा अन्य कारण जनतालाई शासन गर्न समर्थ सानो समूह) र प्लुटोक्रेसी (धनीहरूको शासन) सँग घिनलाग्दो लसपसमा रमाउँदै छन्। जे जसो होस्, अब जन स्तरबाटै भए पनि मार्क्सवादउपर यस्ता खाले क्रिटिकल डिस्कोर्स , बिहगंम मन्थन, प्रगतिशील अन्तरक्रिया अनि समकालीन दार्शनिक विकासका लागि निरन्तर बहसहरू गरिरहनुपर्छ।