इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थललक्षित यमनी क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ। 

तस्वीर : टाइम्स अफ इजरायल

यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलनजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन्।

यमनी हुथी विद्रोहीबाट शृंखलाबद्ध रूपमा इजरायली भूमिलक्षित आक्रमण हुने गरेका भए पनि पछिल्लो क्षेप्यास्त्र प्रहारको जिम्मेवारी तत्काल कसैले लिएको छैन।

तेल अभिवबाहिर बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार भएको सेनाले बताएको छ।

यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन।

प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, “तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छ: यहाँ धेरै चौडा र कैयन् मिटर गहिरो खाडल बनेको छ।”

प्रहरीले जारी गरेको फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ। एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्।

क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ। उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिले विमानस्थल खुला गरी र आवागमन सुचारु भइसकेको छ।”

इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिँदै भने, “जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौँ।”

यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीका पानीजहाजलक्षित क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने गरेका छन्। शनिबार हुथी विद्रोही समूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो। सन् २०२३ मा गाजा युद्ध शुरू भएयता हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरिरहेको र अधिकांश रोकेको इजरायली हवाई सुरक्षा बलले जनाएको छ।