नारायणी अस्पतालका तत्कालीन मेसु सञ्जय ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगन्जस्थित नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

नारायणी अस्पताल, वीरगन्जको आकस्मिक कक्ष भवनमा इन्टरलक बिछ्याउने ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा सात सरकारी कर्मचारी, दुई निर्माण कम्पनीका प्रतिनिधि र लुम्बिनी–मिसन जेभीविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा स्वीकृत लागतमा नभएका आइटम थपेर लक्षित निर्माण व्यवसायीलाई मात्र सफल बनाउने गरी बोलपत्र तयार गरिएको र प्रतिस्पर्धा सीमित पारेर ठेक्का सम्झौता भएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। यसबाट नारायणी अस्पताल र सरकारलाई एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँको गैरकानूनी नोक्सानी भएको आयोगको ठहर छ।

आयोगले अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह र इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पताल वीरगन्जका तत्कालीन नायब सुब्बा सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीप कुमार माझीविरुद्ध एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो मागदाबी लिएको छ। त्यस्तै, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरीविरुद्ध पनि कैद, जरिबाना र बिगो असूलउपर हुन मागदाबी लिइएको छ। 

त्यस्तै, मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारीक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी–मिसन जेभीलाई पनि मूल कसूरदारलाई हुने सजायबराबर कैद र जरिबाना गरी बिगो असूलउपर हुने मागदाबी आयोगले लिएको छ।