अमेरिकासहित यी देशसँग नेपालको व्यापार नाफामा

चालु आर्थिक वर्षको ५ महिनामा अमेरिकाबाट मुलुकभित्र ७ अर्ब ७९ करोड ३४ लाख ४८ हजारको वस्तु तथा सामग्री आयात हुँदा ७ अर्ब ९० करोड ८८ लाख ५८ रुपैयाँबराबरको निर्यात भएको छ।

काठमाडौँ– नेपालको अमेरिकासहित विभिन्न २५ भन्दा बढी देशसँग वैदेशिक व्यापार नाफामा रहेको देखिएको छ। आयात र निर्यातबीचको खाडलका कारण ५ महिनामै मुलुकको व्यापार घाटा झन्डै ६ खर्ब पुग्नै लाग्दा २५ बढी देशसँग भने नेपालको वैदेशिक व्यापार नाफामा देखिएको हो।

१४१ मुलुकसँग नेपालले वैदेशिक व्यापार (आयात-निर्यात) गर्दै आएकोमा २८ मुलुकसँग भने नाफामा रहेको भन्सार विभागले जनाएको छ। ती मुलुकमा अमेरिका, अफगानिस्तान, अल्जेरिया, अजरबैजान, बोलिभिया, कम्बोडिया, कंगो, क्रोयसिया, डेनमार्क, आइसल्यान्ड, किर्गिस्तान, लात्भिया, माली, माल्टा, मोनाको, मोरक्को रहेका छन्। नर्वे, रोमानिया, सुडान, उरुग्वे, जिम्बाबे, एनगोला, बोस्निया एन्ड हर्जगोभिना, एस्टोनियासँग पनि नेपालको व्यापार नाफामा रहेको छ। अर्थात् ती देशबाट आयातभन्दा आन्तरिक उत्पादन निर्यात बढी गर्दै आएको छ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालको सबैभन्दा बढी व्यापार नाफा अमेरिकासँग रहेको छ। चालु आर्थिक वर्षको ५ महिना (साउन–मंसिर)मा अमेरिकाबाट मुलुकभित्र ७ अर्ब ७९ करोड ३४ लाख ४८ हजारको वस्तु तथा सामग्री आयात हुँदा ७ अर्ब ९० करोड ८८ लाख ५८ रुपैयाँबराबरको निर्यात भएको छ। अर्थात् अमेरिकासँग व्यापार ११ करोड ५४ लाख ९ हजारले नाफामा देखिएको छ।

५ महिनाको अवधिमा नेपालले २ अर्ब ९९ करोड २३ करोड रुपैयाँबराबरको गलैँचा अमेरिका निर्यात गरेको विभागको तथ्यांक छ। नेपाली गलैँचाको मुख्य अन्तर्राष्ट्रिय बजार नै अमेरिका हो। यस्तै, यो अवधिमा २६ करोड ३८ लाख रुपैयाँबराबरको सजावटका सामग्री, ९ करोड २ लाखको नेपाली कागज, २ करोड ४२ लाखको तयारी पोशाक अमेरिका निर्यात भएको छ।

नेपालबाट ९ करोड रुपैयाँभन्दा बढीको घरपालुवा जनावर कुकुर र बिरालोका खाना अमेरिका निर्यात भएको छ। नेपालले बढी नाफाको व्यापार गर्ने मुलुकहरूमध्ये दोस्रोमा अल्जेरिया पर्छ। साउनदेखि मंसिर मसान्तसम्म ७ करोड ३० लाख ३४ हजारको वस्तु तथा सामग्री निर्यात भएको छ, तर नेपालले कुनै वस्तु आयात गरेको छैन।

कम्बोडियासँग ७ करोड ६ लाख, रोमानियासँग ६ करोड ४४ लाख,  नर्वेसँग ४ करोड र उरुग्वेसँग ४ करोड ११ लाख रुपैयाँले व्यापार नाफामा रहेको पाइएको छ।

भारतसहित ११३ देशसँग भने नेपालको व्यापार घाटामा छ। ५ महिनाको अवधिमा सबैभन्दा बढी भारतसँग ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख रुपैयाँले व्यापार घाटामा छ। सो अवधिमा नेपालले सबभन्दा धेरै ४७ अर्ब ३७ करोड ६० लाख रुपैयाँको निर्यात पनि भारतमा नै गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। जुन नेपालले गर्ने कुल निर्यातकै ७०.३९ प्रतिशत हो। उत्तरी छिमेकी चीनमा भने नेपालले २४ करोड ४७ लाख रुपैयाँबराबरको मात्र वस्तु तथा सामग्री निर्यात गरेको छ।