कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।

आइतबार हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो।

कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो।

उनको पनि उपचारकै क्रममा मृत्यु भएको हो। ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।