‘अक्षत अन्टार्कटिका’लाई उत्तमशान्ति पुरस्कार

‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौँ– जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिने भएको छ। ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’का अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले विसं. २०८१ को सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा ‘अक्षत अन्टार्कटिका’लाई पुरस्कृति गर्ने निर्णय गरेको हो।

“नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रावृत्तान्तमार्फत पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल हुनु भएकोमा जीवा लामिछानेद्वारा लिखित नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’लाई विक्रम संवत् २०८१ सालको सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्ने निर्णय गरेको छ,” गठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गुठीले २०४४ सालदेखि वर्षभर प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यान विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई एक लाख राशिको ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्दै आइरहेको छ।

‘रूपरेखा’का सम्पादक तथा निबन्धकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले ‘उत्तम पुरस्कार’को स्थापना गरेकी थिइन्। ‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि २०२३ सालमा मदन पुरस्कार प्राप्त गरेका कुवँरको २०३९ सालमा ४३ वर्षको उमेरमै निधन भएको थियो। शान्तिको पनि देहावसानपछि ‘उत्तम पुरस्कार’लाई ‘उत्तमशान्ति पुरस्कार’ भनेर नामकरण गरिएको हो।

यो पुरस्कारबाट अहिलेसम्म मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, रवीन्द्र समीर, परशु प्रधान, देवेन्द्र भट्टराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यास लगायत सम्मानित भएका छन्।