पोर्चुगलले १८ हजार अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने

पोर्चुगलमा एक लाखको हाराहारीमा नेपाली छन्। अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बनेको छ।

काठमाडौँ– पोर्चुगलको कार्यवाहक सरकारले आम चुनावको मुखैमा १८ हजार आप्रवासी श्रमिकलाई निष्कासन गर्ने जनाएको छ।

पोर्चुगलमा मे १८ मा मध्यावधि चुनावमा हुन गइरहेको छ। चुनावको ठीक अगाडि राष्ट्रपति कार्यालयका मन्त्री एन्टोनियो लेइटो अमारोले सरकारले लगभग १८ हजार विदेशीलाई देश छोड्न आदेश दिने बताएका थिए। यसका लागि सूचना जारी गरिने उनले जनाएका छन्।

मन्त्रीका अनुसार यो कारबाही अनियमित रूपमा बस्ने आप्रवासीहरूमा केन्द्रित छ। यो कार्य आगामी हप्तामा शुरू हुनेछ। शुरूमा चार हजार ५०० आप्रवासीलाई २० दिनको समय दिँदै स्वेच्छिक रूपमा देश छाड्न भनिने छ। त्यसपछि अर्को चरणमा निष्कासन गरिने छ।

पछिल्लो समय पोर्चुगल नेपाली श्रमिकको लागि पनि प्रमुख रोजगार गन्तव्य देश बन्दै गएको छ। एनआरएनए पोर्चुगलका अनुसार त्यहाँ एक लाखको हाराहारीमा नेपाली छन्। अवैधानिक हैसियत बनाएका नेपालीको संख्या पनि उल्लेख्य छ।

अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बन्दै गएको छ। अनियमित रूपमा देश प्रवेश गर्ने मानिसहरूलाई देश निकाला गर्ने प्रणालीलाई कडाइ गर्ने माग पनि उठिरहेको छ। युरो न्यूजका अनुसार, एन्टोनियो लेइटाओ अमारोले पनि गत हप्ता यो मुद्दा उठाएका थिए र पोर्चुगलको निर्वासन प्रणाली प्रभावकारी नभएको र यसको समीक्षा गर्न आवश्यक रहेको बताएका थिए।

उनले भनेका थिए, “पोर्चुगल ती तीन युरोपेली देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम मानिसहरूलाई देश निकाला गरिन्छ। र अहिले देश छोड्न आदेश दिन लागिएका व्यक्तिहरू यहाँको नियम उल्लंघन गर्नेमध्येका हुन्।”

युरोपका अन्य धेरै देशहरू जस्तै पोर्चुगलमा पनि अति दक्षिणपन्थी राजनीतिक दल बलियो हुँदै गइरहेका छन्। विज्ञहरूका अनुसार अति दक्षिणपन्थी, राष्ट्रवाद र लोकप्रियताको बढ्दो भावनाले राष्ट्रिय राजनीतिलाई पनि असर गरिरहेको छ। मार्च २०२४ मा भएको चुनावमा, अति दक्षिणपन्थी शेगा पार्टीको समर्थन आधार बढ्यो र यो १८ प्रतिशत मतका साथ पोर्चुगलको तेस्रो ठूलो पार्टी बन्यो।